पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले ३७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । मंगलबार पोखरामा आयोजित कार्यक्रममा श्रमिकको हक–अधिकार, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम कानुन तथा महासंघको आगामी महाधिवेशनको तयारीबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले जिफन्ट २०४६ साल साउन ५ गते पाँच वटा घटक संगठनबाट स्थापना भएको स्मरण गराउँदै हाल महासंघमा २३ वटा घटक संगठन आबद्ध रहेको जानकारी दिए। महासंघले सामान्य कृषि श्रमिकदेखि एयरलाइन्स, निजी अस्पताललगायत विभिन्न क्षेत्रमा संगठन विस्तार गरिसकेको र हाल करिब पाँच लाख संगठित सदस्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा श्रमिकले उचित ज्याला, सम्मानित जीवन र सामाजिक सुरक्षाको प्रत्याभूति पाउनुपर्नेमा विशेष जोड दिइयो। श्रमिकले मिठो खान, राम्रो लगाउन तथा बिरामी पर्दा सहज उपचार र स्वास्थ्य सेवासहित आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै जिउन पुग्ने ज्यालाको व्यवस्था गर्न महासंघ निरन्तर लागिरहेको खत्रीले बताए ।

नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन अपेक्षाकृत चुनौतीपूर्ण भए पनि त्यसप्रति निराश नभएको धारणा राख्दै २०७६ साउन १ गतेदेखि लागू भएको कार्यक्रममा हालसम्म सात लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको जानकारी उनले दिए । त्यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत  र वैदेशिक रोजगारीमा रहेका  श्रमिकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा जोड्ने प्रयास जारी रहेको उल्लेख गर्दै हालसम्म ३० लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षाको दायरामा जोडिएको दाबी अध्यक्ष खत्रीले गरे ।

वक्ताहरूले सबै श्रमिकलाई आफ्ना हक, अधिकार, कर्तव्य र दायित्वबारे सचेत र सुसूचित हुन आग्रह गरे। पछिल्लो समय श्रमसँग सम्बन्धित कानुन संशोधन वा नयाँ कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल नगरी एकपक्षीय ढंगले अघि बढ्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

संविधानले सुनिश्चित गरेका मौलिक हक, श्रमिक अधिकार तथा अन्तर्राष्ट्रिय महासन्धिका व्यवस्थालाई सरकारले पर्याप्त महत्व नदिएको आरोप लगाउँदै श्रमिकलाई बेवास्ता गरेर अघि बढ्दा सकारात्मक परिणाम नआउने चेतावनी उनीहरुले दिए । श्रमिक देशको मेरुदण्ड भएकाले सरकार, रोजगारदाता र श्रमिकबीच सन्तुलन र सहकार्यका आधारमा नीति निर्माण तथा कार्यान्वयन हुनुपर्नेमा जोड उनीहरुको छ। संविधान र कानुनमा भएका व्यवस्थाको कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्दै त्यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता गण्डकी अध्यक्ष खत्रीले औल्याएका छन् ।

यसै वर्ष जिफन्टको अधिवेशन वर्ष रहेकाले केन्द्रीय घटक संगठनहरूको अधिवेशन पुस मसान्तभित्र सम्पन्न गर्ने, माघ मसान्तसम्म सबै प्रदेशको अधिवेशन सक्ने र आगामी चैतभित्र जिफन्टको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाइएको जानकारी अध्यक्ष खत्रीले दिएका छन् । स्थापना दिवसका अवसरमा महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो।

लामो समयसम्म पृथ्वीचोक बसपार्क क्षेत्रमा रहेको जिफन्ट गण्डकी प्रदेश कार्यालय हाल पोखरा महानगरपालिका–नागढुंगामा सञ्चालन भइरहेको छ । संविधानसभा सदस्य चुडामणि जंगलीको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा जिफन्टका पदाधिकारी, श्रमिक प्रतिनिधि तथा विभिन्न घटक संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0