पोखरा । मानव अधिकार संरक्षण मञ्च (मासम) नेपालले आफ्नो ४३ औँ स्थापना दिवस तथा नवौँ राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र बनाएको छ। संस्थाको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण बैठकले स्थापना दिवसलाई देशभर विभिन्न कार्यक्रममार्फत मनाउने तथा आगामी डिसेम्बर १० मा चितवनको नारायणगढमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

साउन ४ गते १९ जना केन्द्रीय सदस्यको अनलाइन सहभागितामा सम्पन्न बैठकले स्थापना दिवस तथा राष्ट्रिय सम्मेलनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको महासचिव डा. श्रीकान्त खतिवडाले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ।

बैठकले आगामी डिसेम्बर १० मा चितवनको नारायणगढमा हुने नवौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारीका लागि सचिवालयलाई आवश्यक जिम्मेवारी प्रदान गरेको छ। सम्मेलन व्यवस्थापनका लागि केन्द्रीय सदस्य डा. यामबहादुर विश्वकर्माको संयोजनमा चितवन जिल्ला कार्यसमितिको सहकार्यमा स्थानीय आयोजक समिति गठन गरी आवश्यक तयारी अघि बढाइने जनाइएको छ।

त्यसैगरी, साउन १३ गते मनाइने ४३ औँ स्थापना दिवसको अवसरमा देशभरका प्रदेश तथा जिल्ला शाखालाई आफ्ना क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ। कार्यक्रमहरूमा संस्थाका पूर्व तथा वर्तमान सदस्य, पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, बौद्धिक वर्ग तथा सरोकारवालाको सहभागितामा “संविधान कार्यान्वयनका दश वर्ष : अवसर र चुनौतीहरू” विषयक अन्तरक्रिया, छलफल, भेटघाट तथा गोष्ठी आयोजना गरिनेछ।

बैठकले स्थापना दिवसका अवसरमा सञ्चालन हुने कार्यक्रमको साझा अवधारणा पत्र महासचिवबाट तयार गरी सबै प्रदेश र जिल्ला समितिमा पठाउने निर्णय पनि गरेको छ।

संविधान कार्यान्वयनका दश वर्षमाथि बहस

मासमले स्थापना दिवसको मुख्य बहसको विषय “संविधान कार्यान्वयनका दश वर्ष : अवसर र चुनौतीहरू” तय गरेको छ।

अवधारणापत्रअनुसार, संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि मुलुक राजनीतिक संक्रमण र संवैधानिक कार्यान्वयनका विभिन्न चुनौतीसँग जुधिरहेको विश्लेषण गरिएको छ। राजनीतिक दलहरूको सहभागिताविना बनेको वर्तमान सरकार, संविधान कार्यान्वयनको अवस्था, लोकतान्त्रिक संस्थाको विकास, कानुनी राज्य, मानव अधिकारको संरक्षण, संवैधानिक सर्वोच्चता तथा विधिको शासनजस्ता विषयमा गम्भीर समीक्षा र बहस आवश्यक रहेको निष्कर्ष संस्थाले निकालेको छ।

यसैगरी, संविधानले आत्मसात गरेका व्यवस्था व्यवहारमा कत्तिको कार्यान्वयन भएका छन्, लोकतान्त्रिक संस्थाहरू कति सुदृढ बनेका छन्, नागरिक समाज, राजनीतिक दल र राज्य संयन्त्रले निर्वाह गरेको भूमिकाको समीक्षा गर्दै आगामी सुधारका दिशाबारे समेत छलफल गरिने जनाइएको छ।

मासमका अनुसार स्थापना दिवसका अवसरमा देशभर सञ्चालन हुने कार्यक्रममार्फत प्राप्त सुझाव र निष्कर्षलाई राष्ट्रिय सम्मेलनमा समेत समेटिनेछ।

संस्थाले संविधानवाद, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई सुदृढ बनाउन राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गर्दै सबै प्रदेश तथा जिल्ला समितिलाई सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0