स्याङ्जा । स्याङ्जामा पर्यटकीय क्षेत्रको प्रवर्द्धनसँगै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आरोग्य पर्यटन यात्रा सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खडकराज सुवेदीले मानसिक स्वास्थ्यका लागि सकारात्मक सोच र स्वस्थ पारिवारिक वातावरण आवश्यक रहेको बताए। उनले आरोग्य पर्यटन यात्राले स्याङ्जाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले आत्मविश्वास, उत्साह र सकारात्मक सोचको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यलाई आरोग्य पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले स्वस्थ जीवनशैली, मानसिक सन्तुलन, सामाजिक सद्भाव तथा वातावरणीय संरक्षणलाई एकसाथ जोड्ने माध्यमका रूपमा आरोग्य पर्यटनको महत्व रहेको बताए । भारतबाट आउने पर्यटकसँगै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्न स्याङ्जा उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै सबै क्षेत्रको सहकार्यबाट जिल्लालाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले नेपालका योग, आयुर्वेद, ध्यान तथा आध्यात्मिक अभ्यासलाई प्रवर्द्धन गर्दै यहाँको जैविक विविधता, जडीबुटी तथा प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउन आरोग्य पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने बताए । उनले यसले भावी पुस्ताका लागि समेत महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक सिर्जना पौडेलले महँगो जीवनशैली, बढ्दो प्रतिस्पर्धा, सामाजिक–आर्थिक दबाब तथा तनावका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै सन्तुलित आहार, नियमित योग, ध्यान, सकारात्मक सोच र आपसी सहयोगबाट मानसिक स्वास्थ्य सुदृढ बनाउन सकिने बताइन् ।

कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक दिपक लम्साल, राधा अर्याल र निर्मला लम्सालले योग, ध्यान तथा सकारात्मक चिन्तनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

‘शारीरिक र मानसिक स्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि आरोग्य पर्यटन’ भन्ने मूल नारासहित स्याङ्जा सदरमुकामदेखि पुतलीबजार नगरपालिका–कोल्मासम्म पैदल यात्रा गरिएको थियो । यात्रामार्फत कोल्मा क्षेत्रको प्राकृतिक सौन्दर्य तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसार गर्दै आरोग्य पर्यटनको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत पार्वती भट्टले गरेकी थिइन् ।

गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा तथा जीवन विज्ञान स्याङ्जाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधि, प्रशिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

सहभागीहरूले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनको समग्र अवस्थाका रूपमा बुझ्दै आरोग्य पर्यटनको अवधारणाले स्वस्थ समाज निर्माण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0