स्याङ्जा । फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० करोड १६ हजार ४ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देउकुमारी गुरुङले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।
उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेट वक्तव्यमा “समृद्ध फेदीखोला, सुखी फेदीखोलावासी” को दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै समतामूलक विकास, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र सुशासनलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको उल्लेख गरिएको छ।
चालु वर्षको खर्च ६७ प्रतिशतभन्दा बढी
चालु आर्थिक वर्ष २०८२/०८३ मा सुरुमा ४२ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि स्रोत संकुचनका कारण संशोधन गरेर ३७ करोड १ लाख रुपैयाँ कायम गरिएको थियो। हालसम्म कुल संशोधित बजेटको ६७.६३ प्रतिशत अर्थात् २५ करोड ३ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको करिब ९० प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
बजेटका प्रमुख उद्देश्य
आगामी वर्षको बजेटले प्रविधिमैत्री स्थानीय शासन, दिगो विकास, सामाजिक समावेशीकरण, स्थानीय सहभागिता, सुशासन र गाउँपालिकाको २० वर्षे गुरुयोजनाको कार्यान्वयनलाई मुख्य उद्देश्यका रूपमा लिएको छ।
शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो लगानी
शिक्षा क्षेत्रका लागि १३ करोड ५४ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। यस अन्तर्गत विद्यार्थीसँग अध्यक्ष कार्यक्रम, अभिभावक शिक्षा, शिक्षक क्षमता विकास, आईसीटी व्यवस्थापन, स्थानीय पाठ्यपुस्तक परिमार्जन, विद्यालय गुरुयोजना निर्माण, शैक्षिक प्रदर्शनी, स्काउट तालिम तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिनेछ।
सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण तथा शैक्षिक सुशासनका कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ।
स्वास्थ्यमा ३ करोड ४१ लाख
स्वास्थ्य क्षेत्रका लागि ३ करोड ४१ लाख ४३ हजार रुपैयाँ बजेट छुट्याइएको छ। आधारभूत स्वास्थ्य सेवा, ९८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रम, पोषण कार्यक्रम, किशोरकिशोरी स्वास्थ्य सेवा, स्वास्थ्य बीमा तथा दीर्घरोगी बिरामीलाई उपचार सहयोग प्रदान गरिनेछ।
उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार, मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण र ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको छ।
कृषि र मौरीपालनमा विशेष जोड
आर्थिक विकासतर्फ १ करोड ९३ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। व्यावसायिक मौरीपालन, कफी खेती, उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, कृषि एम्बुलेन्स, कृषक पाठशाला तथा भूमि बैंक कार्यक्रम सञ्चालन गरिनेछ।
मकै बीउ उत्पादन, रैथाने बाली संरक्षण, बाँझो जमिन उपयोग तथा किसान परिचयपत्र वितरण कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।
पूर्वाधार विकासमा ६ करोड ४३ लाख
पूर्वाधार विकासतर्फ ६ करोड ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ। खड्केटारी–बाँगे–पञ्चासे–दोबिल्ला सडक स्तरोन्नतिका लागि २ करोड ६४ लाख रुपैयाँ, फेदीखोला–कालाभैरव–नुवाकोट सडकका लागि १ करोड रुपैयाँ तथा कुभिण्डे–मट्टिखान–नुवाकोट सडकका लागि १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
गाउँपालिकाले निर्माणाधीन १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिन ८५ लाख रुपैयाँ विनियोजन गरेको छ।
फोहोर व्यवस्थापन र खानेपानीमा लगानी
फेदीखोला गाउँपालिकाले वैज्ञानिक फोहोरमैला व्यवस्थापन प्रणाली विकासका लागि फोहोर संकलन केन्द्रमा आवश्यक मेसिन तथा उपकरण खरिद गर्न ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। खानेपानी योजना मर्मत, संरक्षण तथा दिगोपनाका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।
युवा उद्यमशीलता र खेलकुद
युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्न युवा घुम्ती कोषमार्फत युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ। एन्फा ग्रासरुट फुटबल प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ।
डिजिटल शासन र कर छुट
गाउँपालिकाले आगामी वर्षदेखि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पेपरलेस गभर्नेन्स, डिजिटल अभिलेखीकरण, डाटा बैंक व्यवस्थापन तथा एकीकृत सूचना प्रणाली लागू गर्ने जनाएको छ।
त्यसैगरी पुस मसान्तभित्र मालपोत तथा भूमिकर बुझाउने र व्यवसाय नवीकरण गर्ने करदातालाई १० प्रतिशत कर छुट दिने व्यवस्था पनि गरिएको छ।
संघीय र प्रदेश सरकारबाट मुख्य स्रोत
गाउँपालिकाको बजेटको मुख्य स्रोत संघीय सरकारको समानीकरण, सशर्त तथा समपूरक अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आय रहेको छ। आगामी वर्षका लागि आन्तरिक स्रोतबाट ३ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।
उपाध्यक्ष गुरुङले सीमित स्रोत र बढ्दो जनअपेक्षाबीच उत्पादन, रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताउँदै सबै क्षेत्रको सन्तुलित विकासमार्फत आत्मनिर्भर फेदीखोला निर्माण गर्ने लक्ष्य लिइएको जानकारी दिइन्।














