पोखरा । पोखरा थिएटरकाे प्रस्तुतीमा तयार भएको नाटक ‘एक चिहान’ ले दर्शकको मन जितेको छ । नाटक यहीं भदौ २७ गतेबाट २९ गतेसम्म तनहुँ जिल्लाको दुलेगौँडामा मञ्चन हुँदैछ । जसको तयारी पूरा भएको छ । मञ्चनको लागि नाटक युनिट दुलेगौँडामा पुगिसकेको छ । शुक्ला साहित्य संगम तनहुँसँगको सहकार्यमा ह्वाइट हाउस पार्टी प्यालेसमा मञ्चन गर्न लागिएको हो । भदौ १३ गतेबाट बुकिङ सो मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिएको नाटक यसअगाडि पर्वत र लमजुङमा मञ्चन गरिएको थियो ।
‘एक चिहान’ साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान कक्षा १२ को पाठ्यक्रममा समावेश छ । जसका कारण विद्यार्थी सहित यो उपन्यास पढ्नेको आकर्षण यो नाटकमा देखिएको छ । एक चिहान उपन्यासका माध्यमबाट प्रधानले नेपाली समाजका नारीहरूले भोग्नु परेका यातना, किसानहरू माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । जसको अनुभुति नाटक हेर्दा पाइन्छ ।
उपन्यास एक चिहानलाई नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । नाटकमा परिवर्तन, रमेशबाबु तिमल्सिना, जनक पराजुली, रोशनी रामदाम, रविन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय हेर्न पाइन्छ । व्यवस्थापकको जिम्मेवारी प्रकाश पराजुलीको रहेको छ।
नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक हो । वि.सं. २०११ सालतिरकै निम्न वर्गीय जीवनको यथार्थलाई नाटक एक चिहानमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोशाक, नेवारी लवजले नाटकलाई परिपक्क बनाइदिएको छ । अभिनयमा निखारता थप्न कलाकारहरूले कडा मिहिनेत समेत गरेका छन् ।
नाटकमा प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रूढिवाद र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ ।
यो नाटक पोखरा थिएटरमा पहिलोपटक २०७६ सालको साउनमा मञ्चन भएको थियो । हालसम्म २ सय ५० सो मञ्चन भैसकेको यो नाटक ५० हजारको हाराहारीका दर्शकले हेरिसकेका थिएटरको दावी छ। नाटकलाई गण्डकी प्रदेशका अन्य जिल्लामा समेत मञ्चन गर्ने तयारी छ ।