पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशनमा विभिन्न पदको उम्मेदवार बनेका व्यवसायीहरूले आफ्नो प्रचारलाई तीब्र बनाएका छन् । विगतको जस्तो घरदैलो कम तथा अझ बढी समयानुकूल प्रविधिको माध्यमलाई प्रचार र व्यवसायीबीच छिटो पुग्ने माध्यम बनाएका छन् । यसैक्रममा अध्यक्षका प्रत्यासी गोकर्ण कार्की व्यवसायीसँगको भेटघाट र छलफलमा व्यस्त भएका छन् ।
‘अब निर्वाचनका लागि भौतिक उपस्थिति मात्रै पर्याय बनाइनु हुँदैन । अझै पनि हामी पुरातन शैलीलाई अपनाउने र एआईको जमानामा आइपुग्दा प्रविधिबाट टाढियो भने पछि परिन्छ’ सङ्घमा २०५५ साल देखि निरन्तर अनुभव बटुलेका अध्यक्षका दाबेदार कार्कीले बताए ।
स्वास्थ्यको कारण प्रचारको लागि भौतिक उपस्थितिलाई कम र प्रविधिको उच्चतम् प्रयोग गरेको उनले बताए । ‘चुनावबीचमा मलाई डेँगुको सङ्क्रमण भएपछि एक हप्ता अस्पतालमा रहनु पर्यो । अझै पनि पहिलेको जस्तो स्फूर्ति आइसकेको छैन’ कार्कीले भने । काममा इमान्दारिता, व्यवसायीसँगको निकटता, निरन्तरता, सहनशीलता, परेको बेला व्यवसायीको अभिभावकत्व ग्रहण गर्ने आफ्नो लगाव सङ्घमा रहे देखिनै कायमै राखेको भन्दै यसलाई बाँचुञ्जेलसम्म कायम राख्ने सुनाए ।
२२ वर्षको कलिलो उमेरमा २०४९ सालदेखि उद्योग स्थापना गरेर उद्योगी बनेका कार्की हालसम्म निरन्तर लागिरहेका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न सामाजिक संस्थाहरूका विभिन्न तहमा रहेका कार्कीसँग युरोप, अमेरिका, जापान लगायतका ९ वटा देशका व्यावसायिक प्रतिष्ठानहरूको उत्पादन र विकास अनि बजारिकरणको अनुभव रहेको छ ।
‘बोल्ने कम र काम गर्ने मेरो स्वभाव हो । यसअघिका निर्वाचनहरूमा मलाई आकर्षक मत दिएर सङ्घमा पठाएका प्यारा व्यवसायीहरूले यसपटक स्वभावतः क्रमानुसार र प्राकृतिक न्यायको सिद्धान्त अनुसार अध्यक्ष बन्ने पालो पनि वरिष्ठ उपाध्यक्ष पछि मेरो नै रहेकोले मलाई अध्यक्षको पदमा पुर्याउनेमा ढुक्क छुँ’ उनले थप्छन्- ‘सुत्केरीलाई लागेको व्यथा उनैलाई मात्र थाहा हुन्छ । उद्योगी भएकोले उद्योगी र व्यवसायीको व्यथा मलाई राम्ररी थाहा छ । त्यसैले म एउटा कार्यकाल सङ्घमा गएर इतिहास बनाउन चाहन्छु ।’ बोलेर नभई काम गरेरै देखाइदिने आफ्नो चाहना रहेको कार्कीले बताए ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा उद्योग सङ्घले आयोजना गरेको व्यवसायीसँगको छलफल कार्यक्रममा उनले मेक इन नेपाल, मेड इन नेपाल अर्थात नेपाली उत्पादन र बजारिकरण बीना आर्थिक उन्नति गर्न नसकिने भएकोले ध्यान यसतर्फ भएको बताए । ‘हामी पुनः कृषि उत्पादन अहिलेको भन्दा दोब्बर गर्नेगरी लाग्नुपर्छ । चक्लाबन्दी वा एकीकृत कृषि क्रान्ति र पर्यटनका लागि तत्पर हुनुपर्छ । स्थानीय उत्पादनका लागि स्थानीय सरकारसँग साझेदारी गर्नुको विकल्प छैन । साझेदारीकै कुरा गर्दा पोखरा महानगरपालिकाबाट सुरु भइसकेको छ’ उनले खुलाए।
पोखराको द्रुत आर्थिक क्रान्तिका लागि सुख्खा बन्दरगाह बनाउनु पर्ने, बसपार्कहरुको निर्माण, नयाँ औद्योगिक क्षेत्रको बिस्तार तथा त्रिवेणी देखि कोरला राजमार्गलाई पूर्ण रुपमा संचालनको आवश्यक्ता उनले औंल्याए । अन्तराष्ट्रिय एयरपोर्ट बनिसकेको र आन्तरीक उडानमा मात्रै सिमित नराखि अन्तराष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउदै आवश्यक परे व्यवसायिक दबाब दिन पछि नपर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखरा यूनाईटेड क्लवका पूर्व अध्यक्ष हिमालय बख्रेलले कार्कीको बहुआयामिक व्यक्तित्वका बारेमा परिचय गराएका थिए । संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे, उद्योग संघका सल्लाहकार विनोद शर्मा, युवा व्यवसायी मोहनबाबु खड्का लगायतले सिंगो औद्योगिक क्षेत्र, त्यहाँ रहेको संघ कार्किलाई अध्यक्षको पदमा पुर्याउन आत्तुर रहेको बताए । सो कार्यक्रम उद्योग संघका अध्यक्ष रुद्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
अध्यक्षका प्रत्यासी कार्कीले बुधबार महेन्द्रपुल वरपरका व्यवसायीसंग भेटघाट तथा छलफल गरेकाे उनको सचिवालयले जनाएको छ ।