पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा विद्यार्थी, अभिभावक तथा शिक्षकका लागि प्रेरणादायी एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आइतबार हरियो खर्क अस्पतालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पोखरा १५ मा रहेका २ सामुदायिक विद्यालय र १५ निजी विद्यालय मध्ये १६ वटा विद्यालयको सहभागिता रहेको वडाध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।

 कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक गरेर ३ सय ५० भन्दा बढी सहभागी बनेको उनले खुलाए । वडाले मानवीय विकासमा विद्यार्थी, अभिभावक शिक्षकको क्षमता विकास गर्दै उनीहरूको भावनालाई बुझ्न सके परिवार, विद्यार्थी र शिक्षकबीच समन्वय हुने लक्ष्यका साथ यो कार्यक्रम गरेको हो । यस्तो समन्वयले बालबालिकाको सकारात्मक भविष्य बनाउन मार्गदर्शक बन्छ भन्ने हिसाबले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। समन्वय सहकार्य र सहअस्तित्वको भावनाको विकास गराउँदै भविष्य निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको वडाध्यक्ष बानियाँले प्रष्ट पारे।

कार्यक्रम संयोजक समेत रहेका पोखरा १५ का  वडा सदस्य आशिष भण्डारीले शिक्षा विद्यालयको प्राङ्गणमा मात्र सीमित नरहेर विद्यार्थीको चौतर्फी विकास शिक्षकको शिक्षण कौशलता र अभिभावकको मार्गदर्शकको त्रिवेणी भएको बताए । यो कार्यक्रमले सबै सम्बन्धलाई थप प्रगाढ बनाएर लैजाने उनको विश्वास छ ।  उनले विद्यार्थी, अभिभावक तथा शिक्षकको क्षमता वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे । कार्यक्रमका सहभागीलाई प्रेरणादायी एवं क्षमता अभिवृद्धि सम्बन्धी जानकारी रवि किरण श्रेष्ठले गराएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका लेखा समितिका सदस्य समेत रहेका वडा सदस्य बलराम पौडेल, वडा सदस्य मन्दिरा परियार, वडा सचिव मोतीराज पोखरेल लगायतले बोलेका थिए । वडाले वार्षिक कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0