पोखरा । मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी एमाले पोखरा महानगरपालिका वडा कमिटी–५ ले मदन मार्गस्थित मदन स्मृति पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कमिटी–५ द्वारा आयोजित कार्यक्रममा पार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको थियो । कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा कमिटी–५ का अध्यक्ष लक्ष्मण बरालले पार्टीले नियमित राजनीतिक गतिविधिसँगै सामाजिक तथा जनमुखी कार्यलाई पनि निरन्तर अघि बढाउँदै आएको बताए। उनले विपद् व्यवस्थापन, वातावरण संरक्षण, विपन्न वर्गलाई सहयोग तथा वडामा देखिएका विभिन्न सामाजिक समस्याको समाधानमा समेत कमिटी सक्रिय रहेको जानकारी दिए ।

उनका अनुसार गत महिना नेपाल रेडक्रस सोसाइटी कास्कीमा रगत अभाव भएको अवस्थामा वडा कमिटीले रक्तदान कार्यक्रम आयोजना गरी ५३ युनिट रगत संकलन गरेको थियो ।

आजको सरसफाइ कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य धनबहादुर नेपाली, जिल्ला कमिटी सदस्य तथा जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्री, गोविन्द पराजुली, पूर्व जनप्रतिनिधि रामजी बराल, वरिष्ठ पत्रकार पुण्य पौडेल, ज्येष्ठ कम्युनिष्ट मञ्च जिल्ला अध्यक्ष पूर्ण गिरी, निर्वाचन क्षेत्र परिचालन कमिटी नं ३ का सदस्य कृष्णप्रसाद बराल, वडा कमिटीका सदस्यहरू तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले मदन–आश्रितको योगदानको स्मरण गर्दै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0