पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा आइतबार ‘द्विपुत्री’ अभिभावक सम्मान कार्यक्रम आयोजना गरिएको छ । ‘छोरी हुनुमा गर्व गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा वडामा रहेका दूई छोरी हुने दम्पतीलाई सम्मान पत्र सहित सम्मान अर्पण गरिएको वडाध्यक्ष राधिका कुमारी शाही योगीले जानकारी दिइन् । वडामा दुई छोरी हुने कुल ८९ दम्पती रहेको वडा कार्यालयले जनाएको छ । 

‘जहाँ छोरी सम्मानित हुन्छिन् त्यहाँ परिवार र समाज समृद्ध हुने’ भन्दै छोरीलाई अवसर दिनुपर्छ भन्ने सन्देश दिन समेत कार्यक्रम गरिएको वडाध्यक्ष योगीको भनाइ थियो । देश परिवर्तन गर्ने शक्ति छोरी भएको भन्दै छोराछोरीलाई समान अवसर दिनुपर्नेमा उनले जोड दिइन ।

केही संस्कारका कारण समेत समस्या पर्ने गरेको भन्दै वडाध्यक्ष योगीले दुईवटा छोरी हुनेले गर्व मान्नुपर्ने उल्लेख गरिन् । अवसर र शिक्षा दिएको खण्डमा छोरीले सबैकुरामा सक्षम रहने उनको भनाइ थियो । छोरीहरूको हकहितको लागि संस्थागत रुपमा समेत सक्रिय बन्न उनले सहभागीलाई आग्रह गरिन् ।

सम्मान कार्यक्रममा अधिवक्ता इन्दिरा आचार्य, शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख हेलन पन्त, वडा सदस्य विक्रम गुरुङ, शिवराम भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कार्यालयका सूचना अधिकारी रुद्र बहादुर थापाले गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0