पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको पोखरा थिएटरले अभिनय क्षेत्रमा रुचि राख्ने युवाहरूलाई लक्षित गर्दै ‘एक्टर्स डेभलपमेन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी जेठ १ गतेबाट सुरु हुने उक्त कार्यक्रम ३ महिनासम्म सञ्चालन हुने कार्यक्रम संयोजक रमेश तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य अभिनय प्रतिभालाई पहिचान गरी उनीहरूलाई रङ्गमञ्चमा प्रवेश गर्न प्रेरित गर्नु हो। सहभागी हुन चाहने व्यक्तिहरूको न्यूनतम उमेर १५ वर्ष तोकिएको छ । कक्षा बिहान तथा बेलुकाको समयमा सञ्चालन गरिनेछ, जसले विद्यार्थी तथा अन्य व्यस्त व्यक्तिहरूलाई समेत सहज बनाउने विश्वास थिएटरको छ ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई व्यवहारिक अभिनय प्रशिक्षण प्रदान गरिने थिएटरका संस्थापक अध्यक्ष परिवर्तनको भनाइ छ । अभिनयका आधारभूत सीपदेखि लिएर मञ्च प्रस्तुति, संवाद कला, भाव अभिव्यक्ति तथा चरित्र निर्माणसम्मका विषयमा गहिरो अभ्यास गराइनेछ। साथै, करियर विकासमा समेत विशेष जोड दिइने उनले खुलाए ।

३ महिनाको प्रशिक्षणपछि उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने सहभागीहरूलाई पोखरा थिएटरमै रोजगारीको अवसर प्रदान गरिने व्यवस्था गरिएको छ । यसले नवप्रतिभालाई प्रत्यक्ष रूपमा रङ्गमञ्चमा स्थापित हुन मद्दत पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।
थिएटरले यस कार्यक्रमको शुल्कमा अन्य समयको तुलनामा करिब ६७ प्रतिशतसम्म छुट प्रदान गरेको जनाएको छ, जसले अभिनय सिक्न चाहने युवाहरूलाई अझ सहज पहुँच दिलाउने विश्वास गरिएको छ।
थिएटरले स्थापनाकालदेखि नाटक मञ्चन, अभिनय तालिम तथा विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधि मार्फत निरन्तर सक्रिय हुँदै आएको छ । नयाँ प्रतिभाहरूलाई रङ्गमञ्च तर्फ आउन प्रोत्साहन गर्दै पोखरा सहित समग्र गण्डकी प्रदेशको रङ्गमञ्चको विकासमा महत्वपूर्ण योगदान थिएटरले पुर्याउँदै आएको छ । थिएटरले यतिबेला नयाँ नाटक मञ्चनको तयारीमा समेत जुटिरहेको छ ।
















