पोखरा । पितृ मोक्ष तथा शान्तिको अभिष्टसहित जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञअन्तर्गत पोखरामा आजदेखि वडास्तरीय खुला भजन प्रतियोगिता सुरु भएको छ।
मानवसेवा आश्रमको व्यवस्थापनमा सञ्चालित उक्त प्रतियोगिता राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल केन्द्रीय समिति कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटनसँगै दुई भजन समूहले प्रस्तुति दिएका छन्। उद्घाटन अवसरमा गणेश मन्दिर भजन समूह र ज्येष्ठ नागरिक मिलन केन्द्रले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। सहभागी समूहलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

बैशाख २६ गतेसञ्चालन हुने उक्त प्रतियोगिता मानवसेवा आश्रम, पोखरा–२५ हेम्जास्थित महायज्ञ स्थलमा दैनिक रुपमा बिहान ९:०० बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा ३५ समूहले नाम दर्ता गराएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा व्यक्तिलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय ३३ हजार ३ सय ३३ र तृतीय २२ हजार २ सय २२ रुपैयाँ निर्धारण गरिएको छ। साथै उत्कृष्ट भेषभूषा, स्वर, मौलिक प्रस्तुति, झाँकी र नृत्यतर्फ जनही ५ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिनेछ।
सबै सहभागी समूहलाई प्रोत्साहनस्वरूप २ हजार सहभागिता पुरस्कारसमेत दिइने आयोजकले जानकारी दिएको छ ।
















