पोखरा । पोखरा महानगरपालिका महानगरीय प्रहरी बलको ब्यारेक तथा विपद् तथा जोखिम न्यूनीकरण केन्द्रको उद्‌घाटन गरिएको छ । सुविधा सम्पन्न ब्यारेक तथा केन्द्रको नगर प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८३ का अवसरमा मङ्गलवार उद्‌घाटन गरेका हुन् । 

उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले विपत व्यवस्थापन टिमका व्यक्तिहरू २४ घण्टा नै तोकिएको युनिफर्म लगाएरै ड्युटीमा खटिने गरेको बताए ।  दमकल जतिबेला पनि पानी भरिएकै अवस्थामा तयारी गरेर राखिएको भन्दै पोखरा अनि यस आसपासमा हुने आगलागीका घटनामा प्रयोग गर्ने गरिएको खुलाए । पोखरा भ्यालीमा आगलागीका घटना भएमा १० देखि १२ मिनेटमा दमकल पुग्न सक्ने गरी व्यवस्थापन गरिएको दावी उनले गरे । कास्की बाँकी ४ पालिकामा दमकल नभएको कारण महानगरकै दमकल पठाउने गरिएको भन्दै हाल महानगरसँग तीनवटा दमकल भएको र यो सङ्ख्या कम भएको उनको भनाइ छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद् व्यवस्थापनमा गर्नुपर्ने काम धेरै भएपनि विपद् तथा जोखिम न्यूनीकरण केन्द्र सञ्चालनमा आएपछि केही सहजता हुने विश्वास व्यक्त गरिन् । महानगरपालिका भित्रका विपत् व्यवस्थापन सम्बन्धी काम यहाँबाट गर्न सकिने भन्दै यसलाई तालिम सेन्टरको रुपमा पनि विकास गर्न सकिए प्रभावकारी हुने बताइन् । जेनजी आन्दोलनले केही पाठ सिकाएको भन्दै उनले साधारण दमकल भन्दा पनि अग्ला भवनमा समेत पानी पुर्‍याउन सक्ने बनाउनुपर्नेमा जोड दिइन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विपद् व्यवस्थापनलाई ध्यान दिँदै भवन निर्माण गरिएको भन्दै अब विपद् आउन नदिन र आइहालेमा प्रभावकारी कार्य मार्फत क्षतिको न्यूनिकरण गर्ने उद्देश्यले भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको बताए ।

पोखरा महानगरपालिका भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख वरिष्ठ इन्जिनियर लक्ष्मी प्रसाद गौतमले भवनको निर्माण सिद्ध बाबा निर्माण सेवा स्याङ्जाले गरेको बताए । २०८० साल कार्तिक २३ गते सम्झौता भै २०८२ भदौको २३ गते सम्म थियो । भवनको लागत अनुमान ६ करोड ४८ लाख ५७ हजार २ सय १६ रुपैयाँ गरि ५ करोड ९५ लाख ११ हजार ५ सय ७५ रुपैयाँमा सम्झौता भएको थियो। कुल भुक्तानी ५ करोड २१ लाख २२ हजार ८ सय ७६ रुपैयाँ २८ पैसा भएको उनले बताए । यसमा भुइँतलाको क्षेत्रफल ४ सय ५० वर्ग मिटर र माथिल्लो तलाको पनि ४ सय ५० वर्ग मिटर रहेको छ  भने दमकलको सेट २ सय ८० वर्ग मिटरको रहेको इन्जिनियर गौतमले जानकारी दिए ।

नगर क्षेत्रको शान्ति सुरक्षा सुशासन तथा विपद् व्यवस्थापनलाई सुदृढ गर्ने उद्धेश्यका साथ पोखरा महानगरले निर्माण गरेको महानगरीय प्रहरी बलको ब्यारेक तथा विपद् तथा जोखिम न्यूनीकरण केन्द्रको उद्‌घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्धयक्ष गोकर्ण कार्की, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का, पोखरा महानगर पालिकाका प्रवक्ता मोतिलाल तिम्सिना लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0