पोखरा । पोखरा २२ पुम्दीभुम्दीमा विश्वकर्मा सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालयको उद्‌घाटन नयाँ वर्षको अवसर पारेर  एक भव्य कार्यक्रमका बीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गरे। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल, वडा जनप्रतिनिधि कृष्ण कुमारी देवकोटा लगायत अतिथिहरूको सहभागिता रहेको थियो । टोल विकास संस्था, आमा समूह, क्लबका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख सहभागितामा उद्‌घाटन कार्यक्रम गरिएको हो । 

सङ्ग्राहालयका परिकल्पनाकार तथा अध्यक्ष गणेश बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत मन्तव्य उपाध्यक्ष सुदीप बिकले र सञ्चालन महासचिव कृष्ण बरालले गरेका थिए ।सङ्ग्रहालय पोखरा २२ को शान्ति स्तूपा र विशाल महादेव मूर्तिको बीचमा रहेको छ । अध्यक्ष बराइलीले सो सङ्ग्रहालय सञ्चालनमा आएपछि पोखरामा पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए ।

सो सङ्ग्रहालयमा विश्वकर्मा समुदाय र यसभित्र पर्ने ५ प्रकारका पेशागत नाम, उनीहरूले प्रयोग गर्ने सामाग्री, उनीहरूको पहिचान र जीवनशैली झल्कने सामाग्रीहरू राखिएको छ  । विश्वकर्मा भित्र पनि सुनचाँदी, फलाम, खानीजन्य वस्तुहरू, तामा पित्तल, काठको काम गर्ने फरक फरक पेशागत समुदाय रहेको बताउँदै ती सबैको पहिचान झल्काउने सामाग्रीहरू सङ्ग्रहालयमा रहेको उनले उल्लेख गरे ।

सङ्ग्रहालय निर्माणका लागि हालसम्म झण्डै २५ लाख लागत खर्च भइसकेको बराइलीले जानकारी दिए । जसमा सरकारी बजेटबाट २० लाख र संस्थाको लागत ५ लाख रहेको छ । सङ्ग्रहालय अवलोकन गर्न टिकटको व्यवस्था गर्ने जनाइए पनि बैशाख महिनाभर भने नि:शुल्क  अवलोकन गर्न पाइनेछ ।  

सङ्ग्रहालयको व्यवस्थापनका केही काम अझै बाँकी रहेको र यसको प्रभावकारी सञ्चालनका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको अध्यक्ष बराइलीले जानकारी दिए। नयाँ सङ्ग्रहालयले पोखरामा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। सङ्ग्रहालयसँगै प्रत्यक्ष अवलोकन गर्न मिल्नेगरी खाली जग्गामा आरनको व्यवस्था गर्ने तयारीमा रहेको बराइलीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0