पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकसम्म निशुल्क विद्युतीय सटल बस सेवा सुरु भएको छ ।नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि दुईतर्फी रूपमा यो सेवा सञ्चालनमा आएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मंगलबार विमानस्थल परिसरमा आयोजित एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरे । अहिलेलाई यो सेवा आगामी असार मसान्तसम्मका लागि निशुल्क गरिएको छ ।
महानगरपालिकाले महानगर यातायात प्रालि काठमाडौं, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा यो सेवा ल्याएको हो । विमानस्थल आउने र जाने हवाई यात्रुलाई भरपर्दो, विश्वसनीय र सरल यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो साझेदारी गरिएको हो ।
‘पहिलो चरणमा असार मसान्तसम्मका लागि परीक्षणका रूपमा निशुल्क सेवा सुरु गरेका हौं,’ नगर प्रमुख आचार्यले भने, ‘यसको प्रभावकारिता हेरेर पछि थप परिष्कृत रूपमा सेवालाई निरन्तरता दिइनेछ ।’ उनले भविष्यमा यो सेवा पोखराका अन्य मुख्य गन्तव्यसम्म विस्तार गर्ने योजना रहेको समेत बताए ।
विद्युतीय बस चार्ज गर्नका लागि अहिले पर्यटक बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्था मिलाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार बसको समय तालिका थपघट गर्न सकिनेछ ।
सटल बस सेवा शुभारम्भ कार्यक्रममा विभिन्न सरकारी अधिकारी र जनप्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहभागी भए । यस्तै नेपाली कांग्रेस दलका नेता दिवसमान प्रधानांग, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना र कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की पनि कार्यक्रममा थिए ।
विमानस्थल कार्यालयकी निमित्त प्रमुख जसोदा सुवेदी, विभिन्न वडाका वडाध्यक्षहरू, भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, महानगर यातायात प्रालिका अध्यक्ष तथा पदाधिकारी र पर्यटन व्यवसायीहरूले पनि कार्यक्रममा सहभागिता जनाए ।
















