पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औँ  महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतीले व्यवसायीहरू मारमा परिरहेको बताएका छन् ।

सङ्घको अधिवेशन नजिकिँदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थताका कारण घरदैलो अभियानमा हिड्‌न नसकेका कार्कीले आर्थिक चुनौतीको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफूले  उद्योगी, व्यवसायीका सबै पिर मर्का उनले बताएका छन् ।

‘आर्थिक चुनौतीहरूको सामना गरिरहेको बेलामा नयाँनयाँ अवसरहरूको खोजी गर्दै व्यवसायी सदस्यहरूको मनोभाव बुझेर तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवर्द्धन र नेटवर्किङको फ्रेममा रहने वातावरण बनाउने छु’ कार्कीले भने– ‘एउटा सुत्केरीको व्यथा सुत्केरी भएका महिलालाई मात्रै थाहा हुन्छ । अरुलाई त्यो बारेमा थाहा हुँदैन । अहिले सङ्घमा पनि त्यस्तै भएको छ । उद्योगी, व्यवसायी, व्यापारीको कुरा बुझ्ने भनेकै हामी उद्योगी, व्यापारी र व्यवसायीले नै हो । हिजो जसरी मलाई यो स्थानसम्म पुर्‍याउनुभयो अब एक पटक अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ ।

हालका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले पोउवासंघ उद्योग व्यवसायीहरूको छाता सङ्गठन भएकाले नेतृत्व तहमा बसेर काम गर्ने चाहनाका साथै हालको आर्थिक चुनौतीका लागि के कस्ता रणनीति अपनाउनुपर्छ भन्ने बारेमा भिजन तयार गरेको बताए । देशमा कोरोना कहर पश्चात आर्थिक समस्या धेरै आएको र आफू पनि एक उद्यमी भएकाले यसबारेमा सबै कुरा थाहा भएकाले त्यसको समाधान गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

देशको अर्थतन्त्र उकासिन सकिरहेको छैन । युवाहरू विदेशिने र देशमा लगानी गर्ने वातावरण नहुँदा देश उँधो गतिमा गइरहेको बताउँदै कार्कीले यसको समाधानका लागि समग्र उद्योग, व्यापारी, व्यवसायी, पर्यटन, कृषिको क्षेत्रमा काम गर्न आवश्यक रहेको सुनाए । प्राकृतिक न्यायको सिद्धान्तअनुसार समेत यसपालि आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको उनले बताएका छन् ।

०५५ सालमा सङ्घमा साधारण सदस्यको रूपमा प्रवेश गरी कार्यसमितिमा उद्योग उपाध्यक्ष २ कार्यकाल देखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका छन् । यो स्थानसम्म आम उद्योगी, व्यवसायीले नै पुर्‍याएको भन्दै कार्कीले यहीं भदौ २८ र २९ गते हुने सङ्घको ३५ औं अधिवेशन मार्फत पुनः आफुलाई मत दिई विजयी गराइदिन अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0