काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्फत २१ औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा परे ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।

अवार्ड यहीं भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए । मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिए । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0