पोखरा । फेवातालमा बगेर आउने गेग्य्रान रोक्न पोखरा महानगरद्वारा निर्माण गरिएको सिल्ट्रेसन ड्यामको अवस्था बारे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन निरीक्षण गरेका छन्। पोखरा २३ र २४ स्थित खोलाहरूमा निर्माण गरिएका ड्यामहरूको पछिल्लो अवस्था बुझ्न नगर प्रमुख आचार्य इन्जिनियरहरू सहित पुगेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ।
फेवातालको मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् । गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् । फेवा मुहानको बेत्यानी खोलामा दुई वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक–एक गरी पाँच वटा ड्याम बनाइएको हो ।
हाल कतिपय ड्यामहरूको अवस्था जीर्ण बनेको र तत्काल मर्मत गर्नु पर्ने देखिएको नगर प्रमुख आचार्यले बताए । सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तर्गत नदीजन्य पदार्थ व्यवस्थापनको जिम्मा फेवा सिल्ट्रेसन प्रा.लि.ले लिएको छ ।