पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीको लागि निर्धारण गरिएको खाजा खाने समय उल्लङ्घन गर्नेलाई कारवाही गर्ने बताएका छन् । आइतबार राती फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको खुलाएका छन् ।
खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोक्न नहुने उनले प्रष्ट पारेका छन् । हरेक दिन १.३० बजे देखि २ बजेसम्म खाजा खाने समय कायम गरिएको भन्दै उल्लङ्घन भए हेल्लो सरकारमा गुनासो गर्न भनेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली लेख्छन्- ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।शुभ रात्रि!’