पोखरा । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र ‘खुश्मा’को प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारमा तिव्रता दिन थालिएको छ । यसैक्रममा चलचित्र युनिट आइतबार पोखराका पत्रकार माझ उपस्थित भए । उनीहरूले चलचित्र राम्रो बनेको भन्दै दर्शकहरूको माया तथा साथ पाउने विश्वास रहेको सुनाए । चलचित्र हेरेर प्रतिक्रिया दिन समेत उनीहरूको अनुरोध थियो ।
उपासना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको चलचित्र निर्माणमा राम्रो मिहेनत भएकोले दर्शकले रुचाउने अपेक्षा गरिएको छ । अभिनेता धिरजकै गाउँ रुकुम पूर्वको मैकोटमा मुख्य छायाँङ्कन गरिएको चलचित्रमा मगर समुदायको कथालाई समावेश गरिएको छ । चलचित्र संविधान दिवसको अवसर पारेर प्रर्दशन गर्न लागिएको हो ।
डकुमेन्ट्री निर्माण मार्फत स्थापित बनेका अशोक थापा मगरले पहिलोपटक नेपाली चलचित्रको निर्देशन गरेका हुन् । ‘मेकिङमै हामीले सक्दो मेहनत गरेका छौँ। दर्शकले पक्कै मन पराउनुहुनेछ।’ उनले भने । चलचित्रमा द्वन्द्वकालको बेलाको प्रेम कथा प्रस्तुत गरेको उनको भनाइ छ । ‘द्वन्द्वकालको प्रेमकथा पस्किदैछौ । राम्रो चलचित्र बनेको छ । सबैको चिजको मिश्रण गरेका छौँ’, उनले थपे । व्यवसायिकसँगै नेपाली चलचित्र उद्योगलाई उकास्न चलचित्र बनाएको निर्देशक थापाले बताए । दर्शकले साथ दिएर अर्को चलचित्र बनाउन हौसला थप्ने उनको विश्वास छ ।
चलचित्रमा मुख्य भूमिकामा रहेका उपासना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताए । साधारण प्रेमकथालाई उत्कृष्ट ढङ्गले देखाइएको उनीहरूको दावी छ । पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा चलचित्रको अधिकांश दृश्य खिचिएको हो । यसका अलावा रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा समेत छायाङ्कन गरिएको छ । झन्डै ४५ दिन लगाएर खिचिएको चलचित्रमा तीन करोड बढी लगानी भइसकेको निर्माण टिमको भनाइ छ ।
चलचित्रमा धिरज, उपासनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर लगायतका कलाकारले अभिनय हेर्न पाइनेछ ।
कलाकार माओत्से गुरुङले यस चलचित्रमा शिक्षकको भूमिका निभाएकाे र यो अनुभव आफ्नो लागि नौलो रहेको बताए । सबैको प्रयासका कारण चलिचत्र राम्रो बनेको उनले सुनाए ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन निर्देशक थापाको नै रहेको छ । चन्द्रबहादुर भट्टचन, बेतान मगर र वीरबहादुर लामा निर्माता रहेका छन् । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन् । दिपक बज्राचार्यले खिचेको चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
चलचित्रमा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो । चार हप्ता अगाडि पहिलो टिजर सार्वजनिक भएको यो चलचित्रको ट्रेलर एक–दुई दिनमा सार्वजनिक गरिने निर्माण युनिटको भनाइ छ ।