पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफूले गरेका महत्वपूर्ण कामका उपलब्धीहरू सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए ।

प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन अन्तर्गत प्रदेशका २५ वटा विद्यालयहरूमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई दक्ष बनाउने बाटोमा प्रदेश सरकार लागेको उनले उल्लेख गरे । फ्राइडे फर फ्युचर कार्यक्रम मार्फत बालबालिकालाई संस्कार सिकाउने शिक्षाको समेत प्रदेश सरकारले निर्देशिका तयार गरेको उनले बताए ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरूलाई पेशागत तालिम उपलब्ध गराइएको उनले उल्लेख गरे । मन्त्री थापाले लोपोन्मुख अवस्थामा रहेका संस्कृतिहरूको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई क्रियाशील बनाई महत्वपूर्ण काम गरिरहेको बताए । मनकामना क्षेत्रको सञ्चालन, संरक्षण, विकास एवम् प्रवर्द्धनका लागि मनकामना क्षेत्र विकास समिति गठन आदेश तयार गरिएको जानकारी उनले गराए ।

श्रम तथा रोजगार तर्फ वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरूलाई नयाँ सीपमुलक क्षेत्रको पहिचान गरि स्वरोजगार  बनाउन कार्यक्रम तय गरिएको बताए ।

“गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएका छन् । खेलाडी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढिएको छ ।”, उनले भने । सामाजिक सेवा, कृषि, नवप्रर्वतन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशील बनाउन काम गरिएको उनले बताए । खेलकुदका विभिन्न सङ्घसंस्थासँग समन्वय गर्दै आवश्यक कार्यक्रमलाई अगाडि बढाउने काम भएको मन्त्री थापाको भनाई छ ।

द्वन्द्वपीडित, बेपत्ता, घाईते, अपाङ्ग, सहिद परिवार र विपन्न महिलाहरूको उद्यम, व्यवसाय तथा रोजगारी प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको उनले बताए । न्यून आय भएका, श्रम गर्न नसक्ने अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकहरूलाई विशेष प्राथमिकता दिँदै उद्धार, राहत एवम् पुनस्थापना कार्यक्रम मन्त्रालयले सञ्चालन गरेको छ ।

क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले विरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार गराउने गरि विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए । बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई विस्तार गरिएको जनाए ।

गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान संचालनमा ल्याइएको उनले उल्लेख गरे । क्षयरोग जस्ता विभिन्न सर्ने रोगहरू एवं उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न नसर्ने रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0