पोखरा। सातौँ मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । प्रतियोगिताको फाइनलमा पुगेका ११ प्रतिस्पर्धी मध्ये उत्कृष्ट बन्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात पारिन् ।
बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् ।
थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मि आलेमगरले प्राप्त गरिन् । ताजसहित नगद रु १५ हजार हात पारेकी रश्मिले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र वेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् । उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियङ्का गर्बुजामगरले जानकारी दिइन् ।
टिम संयोजक गर्बुजामगरका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् । मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् ।
देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापामगरले जानकारी दिए ।
उनका अनुसार ग्रान्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । निट डेन्टल केयर प्रिजेन्ट्स तथा एसटी क्रियशनको आयोजनामा भएको प्रतियोगितामा नेपाल मगर सङ्घ कास्कीको संरक्षकत्व रहेको थियो ।