पोखरा । २५ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङदी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रङ्गशालामा भएकाे क्वार्टरफाइनल भारतको सिक्किमबाट आएको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको अतिरिक्त समयको पहिलो हाफको इञ्जुरी समयमा  मनाङका आशिष क्षेत्रीले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए । निर्धारित समयमा दुवै टिमले अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

निर्णायक गोल गरेका आशिष क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । अब मनाङले आयोजक टोली सहारा क्लब पोखरासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

भारतको सिक्किमबाट दोस्रो पटक सहभागिता जनाएको थन्डरबोल्ट नर्थ युनाइटेडले सशक्त प्रदर्शन गरे तापनि महत्वपूर्ण अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । 

अब मङ्गलबार विदेशी टोली आभा एफसी उज्बेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेडका बीच अन्तिम सेमिफाइनल खेल हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0