पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा पोखरा ५ को धर्मस्थली भजन समूह प्रथम हुन सफल भएको छ । प्रतियोगितामा सहभागी भएका ११ टिम मध्ये उत्कृष्ट बनेको धर्मस्थलीले नगद ५० हजार रुपैयाँका साथमा प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।
वडाध्यक्ष पराजुलीका अनुसार महाशिवरात्रिको अवसरमा वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा शुक्ला गण्डकी तनहुँको महेश्वर खनाल भजन समूह द्वितीय हुन सफल भएको छ । यसैगरी पोखरा २३ को पात्ले युवा समूह तृतीय र पोखरा १९ लामाचौरको गणेश मन्दिर समूह सान्त्वना हुन सफल भएको छ । उत्कृष्ट झाकी तर्फ देविस्थान बाल भजन समूह हेम्जा अब्बल ठहरियो ।
द्वितीय हुने समुहले ३० हजार, तृतीय हुनेले २० हजार, सान्त्वना हुनेले १० हजार र उत्कृष्ट झाँकीले ५ हजार सहित प्रमाणपत्र हात पारेको वडाध्यक्ष पराजुलीले जनाए।

सर्वेश्वर महादेव मन्दिर संरक्षण समितिको समन्वय र परोपकार सर्वेश्वर नारी समुहको व्यवस्थापनमा भएको प्रतियोगिता धर्म संस्कृतिको संरक्षण आन्तरिक पर्यटन प्रवर्द्धन भन्ने मूल नारासहित गरिएको वडा अध्यक्ष पराजुलीले खुलाए ।
भजन प्रतियोगितासँगै रुद्री पुजा र शिवरात्रि सँग सम्बन्धित अन्य धार्मिक कार्यहरू समेत गरिएको उनको भनाइ छ । वडाले संस्कार संस्कृति संरक्षण र जगेर्ना गर्नका लागि यसप्रकारका कार्यक्रमहरू निरन्तर रुपमा गर्दै आएको छ । अध्यक्ष पराजुलीका अनुसार तीजगीत प्रतियोगिता, योमरी महोत्सव लगायत सांस्कृतिक मेला महोत्सवहरू वडाले आयोजना गर्ने गरेको छ ।
















