पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘कार्यालय समयमा कर्मचारीहरू भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने होइन’ निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले भने ‘कार्यालय समयमा तपाईँहरू भेट्न हिँड्दा, आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ ? जनताको सेवा प्रभावित हुन भएन ।’ पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारीहरू, ट्रेड युनियनकर्मीहरु समुह बनाएर कार्यालय समयमा मुख्यमन्त्री कार्यालय, मन्त्रालय आउने गरेपछि मुख्यमन्त्री पाण्डेले आफ्ना मुद्दाका विषयमा माग राख्दा, भेट्न हिँड्दा समयको ख्याल गर्न निर्देशन दिएका हुन् ।

कर्मचारीहरूको वृत्ती विकास र अधिकारका सवालमा सरकार संवेदनशिल रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले कर्मचारी युनियन, कर्मचारी सङ्घ, सङ्गठनहरूलाई कर्मचारीको साझा मुद्दामा केन्द्रित भएर सरकारलाई सुझाव दिन अनुरोध गरे । ‘कर्मचारीका मुद्दा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस्’ उनले भने ‘सरकार बाँधिएर सबै माग एकै पटक पुरा गर्ने स्थित रहँदैन ।’ सङ्घीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले प्रदेशको स्रोत साधन, क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रित हुन सुझाव दिए । प्रदेश निजामती ऐनमा सुधार गर्नुपर्ने केही विषयहरू प्रदेश सभाबाट संशोधनको तयारी भएको उनले बताए ।

सरकार भनेको मुख्यमन्त्री, मन्त्री, सचिवहरू मात्र नभएर सबै कर्मचारी र जनप्रतिनिधि भएकाले सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नारालाई व्यवहारमा उतार्ने गरी काम गर्न कर्मचारीलाई शुभकामना दिए । नागरिकको अपेक्षा, बद्लिँदो प्रविधिमैत्री सेवा दिने विषयमा दक्ष र सक्षम हुँदै नागरिकको असीमित अपेक्षा र आवश्यकतालाई सहज रुपमा पुरा गर्दै जाने सरकारको योजना रहेकाले सोही अनुसार कर्मचारीले आफ्नो सेवामा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सरकारको प्रतिनिधि कर्मचारी हो, तपाईँहरूले दिने सेवाबाट नागरिकले सरकार कस्तो छ, सेवा कस्तो छ भन्ने अनुभूति गर्छन, मूल्याङ्कन गर्छन’ मुख्यमन्त्री पाण्डेले भने ‘जनताको काम सहज रुपमा गरिदिनुहोस्, काम हुन सक्दैन भने के कारण हुँदैन, भन्ने प्रष्ट भनिदिनुहोस्, नागरिकलाई वुझाउने दायित्व पनि तपाई हाम्रो हो ।’

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियका अध्यक्षहरु लगायतले कर्मचारीको वृत्ति विकास, अधिकार, प्रदेश निजामती ऐनमा संशोधन र संवोधन गर्नुपर्ने विषयहरू लगायतका बारेमा धारणा राखेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको आयोजनामा भएको निजामती सेवा दिवसको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, बिभिन्न खेलकुद प्रतियोगिता, हाँजिरि जवाफ लगायत कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0