पोखरा । कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह ‘जुद्ध शमशेरका नाममा’ ल्याएका छन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक दशक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् ।

यस भन्दा अघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित छ । कविता सङ्ग्रह लोकार्पणपछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदयमान र प्रतिभा सम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए । समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायाँमा कविताले चैतन्यको यात्रा थालेको र यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको बताए ।

कवि तथा स‌ंस्कृतिकर्मी तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए । कवितामा तान र बान मिलेको हुनुपर्ने बताए । कविताको कुनै आकार नहुने भन्दै कवि चैतन्यका कवितामा पनि आकारको बन्देज नभएको बताए । सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहज कर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि अधिकारीलाई तुलना गरे । कविता के हो ? किन लेखिन्छ र कविताले के दिन्छ ? भन्ने प्रश्नको उत्तर नभए पनि आफू बाँचेको आभाष दिन पनि कविता लेख्छु भन्ने राय राखे । सूत्रमा लेखिन्छ भन्ने अभिव्यक्ति सुन्दै आए पनि आफू अचेल छोटा कवितामा रमाउन थालेको बताए ।

शेखर पराजुलीले स्रष्टा चिनारी राख्दै कवि चैतन्यलाई एकै पटक तीन वटा डुङ्गामा खुट्टा राख्नसक्ने खुबी भएको जिकिर गरे । कृति समीक्षा गर्दै कवि समालोचक सञ्जीव पौडेलले चैतन्यलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कवितानै पढ्न उक्साउने स्रष्टाका रुपमा पाएको बताए ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्व अध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, कौशल चन्द्र जी.सी.,रीता अधिकारी ऋतु, शिब त्रिपाठी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0