पाेखरा कास्की जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनसम्बन्धी अन्तरक्रिया गरिएको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ को आयोजनामा उम्मेदवार एवं प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।

छलफलमा सहभागी उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि एवं सरोकारवाला निकायका व्यक्तिहरूले निर्वाचन आचारसंहितासँग सम्बन्धी जिज्ञासा एवं सुझावहरू राखेका थिए । उक्त  जिज्ञासा एवं सुझावहरूलाई  कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, क्षेत्र नं‍. २ की निर्वाचन अधिकृत निर्मला कुमारी थापा, प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी नारायण ढकाल, क्षेत्र नं. १ का निर्वाचन अधिकृत सीता रेग्मी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा अनुगमन अधिकृत समेत रहेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले निर्वाचन आचारसंहिताबारेको जानकारी गराएका थिए । निर्वाचन आयोगले यसपटकको निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित निर्वाचनका रूपमा सम्पन्न गर्ने प्रयास गरेको बताउँदै राजनीतिक दल, सार्वजनिक वा निजी संस्थानमा आबद्ध व्यक्तिहरूसहित आम नागरिकले पनि यसमा साथ दिनुपर्ने बताए । उनले निर्वाचन प्रचार प्रसार गर्दा विद्यालय, विश्वविद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले त्यसको पालना गर्न आग्रह गरे ।

अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रण कार्यालय कोलेनिका कास्कीका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था भएको भएपनि कास्कीमा थोरै मात्र उम्मेदवारहरूले छुट्टै खाता खोलेको उल्लेख गरे । उनले उम्मेदवारले आफ्नो खाता चलाउन जिम्मेवार पदाधिकारी तोक्न सक्ने र २५ हजारभन्दा बढिको सहयोग बैङ्किङ प्रणालीमार्फत मात्र लिन पाउने जानकारी गराए ।

छलफल कार्यक्रमको सञ्चालन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले गरेका थिए । यसअगाडि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, कास्की निर्वाचन क्षेत्र नं. १ ले   निर्वाचन आचारसंहिताबारेको छलफल गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0