पोखरा । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले पोखराबाट अन्तराष्ट्रिय उडान हुन नदिने खेल भइरहेको भन्दै त्यसको खुलेरै विरोध गर्ने बताएका छन् । केही व्यक्तिहरूले पोखराबाट अन्तराष्ट्रिय उडान भर्न नदिने कोसिस गरिरहेको दावी गर्दै उनले त्यसको विरोध गर्ने बताएका हुन् ।
पोखरा १४ चाउथेस्थित कास्की निर्वाचन क्षेत्र नं.१ मा एमालेको निर्वाचन कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले पोखरा विमानस्थल संसारकै नमुना विमानस्थल भएको बताए । विमानस्थल निर्माणको क्रममा भएको भनिएको घोटालाको विषयलाई लिएर विमानस्थल सञ्चालन गर्न नदिने प्रयास भइरहेको उनको भनाइ छ। ‘यो एयरपोर्ट पोखराको मात्र होइन संसारकै नमुना एयरपोर्ट छ, यो एयरपोर्ट निर्माणमा केही विवाद रहेछन्’, उनी थप्छन् ‘पोखरामा अन्तराष्ट्रिय उडान भर्न नदिने काठमाण्डौका केही घरानियाहरूले गरेका छन् त्यसको खुलेर विरोध गर्न चाहन्छौ । एयरपोर्टबाट अन्तराष्ट्रिय उडान सुचारु हुनुपर्छ ।’
अर्को प्रसङ्गमा बोल्दै सचिव अधिकारीले जेनजी युवाहरूलाई स्टार्ट अप र उद्यमशील कार्यक्रमलाई पहिलोचोटी सम्बोधन गर्ने सरकार नै केपी ओलीको सरकार भएको दावी गरे । एमाले सरकारले गरेका काम जनताले कहिल्यै नभुल्ने भन्दै अन्तराष्ट्रिय शक्ति केन्द्रको प्रभावमा विश्व संरचनामा आएको परिवर्तनले एमालेमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गरे ।
‘देशलाई विध्वम्स र अन्तराष्ट्रिय राजनीतिको चक्रव्यूहमा फसाउने जुन योजना अगाडि बढिरहेको छ त्यो योजनालाई ब्रेक लगाउँदा प्रहार भएको छ’ उनले भने। श्रृङ्खलावद्ध रुपमा देशको संविधान, देशको लोकतन्त्र ,देशको सार्वभौमिकता माथि हमला भइरहेको भन्दै सबै सचेत हुनुपर्ने उनले बताए ।
भ्रष्टाचार मुक्त नेपाल र सुशासन युक्त नेपालको परिकल्पनाका साथ नवपुस्ताको नयाँ विचार बोकेको पार्टी एमाले भएको उनले सुनाए । भ्रष्टाचारको केसमा एमालेको कोही मुछिएको छ भने त्यसलाई पहिला कारबाही गर्नुपर्छ भनेर आवाज उठाउने पार्टी समेत एमाले भएको दावी गरे । एमालेले आफू सरकारमा हुँदा गरेका कामबाट जनताको मन जितिरहेको कारण आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको अत्याधिक समर्थन पाउने विश्वास उनले गरे।
कार्यालय उद्घाटन कार्यक्रममा एमालेको तर्फबाट कास्की क्षेत्र नं.१ का उम्मेदवार वैन बहादुर क्षेत्री अधिकारी, एमाले कास्की सचिव दर्शन लामा लगायतले बोलेका थिए ।
















