पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेर जानकारी दिएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसैगरी आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गरेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध समेत गरेको छ ।