पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष तथा ३५ औँ अधिवेशनमा अध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले स‌घमा निर्विरोध निर्वाचित भएका पदाधिकारी र सदस्यलाई बधाई दिएका छन् ।

 ‘हाम्रा केही साथीहरू निर्विरोध निर्वाचित भइसकेका छन् । यो अति नै खुशीको कुरा हो । पोखराको व्यावसायिक क्षेत्रको जेठो साझा संस्थामा साझा मुद्दामा हामी एकाकार भएर काम गर्दै आईरहेका छौँ । कठिन परिस्थितिसँग जुध्दै, वकालत गर्दै व्यवसायीबीचमै उहाँहरूकै मार्गनिर्देशन अनुसार अगाडि बढिरहेको छु’ उनले भने ।

भर्खरै डेङ्गुको उपचार गरी घर फर्किएका पोखरा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले भने- ‘म अब पदमा जाने भनेको अध्यक्ष नै हो । स्वतः प्राकृतिक न्यायको सिद्धान्तलाई अङ्गिकार गर्ने हो भने र साथीहरूको हौसलाले म त्यो पदमा पुग्न सक्छु भन्ने कुरामा विश्वस्त रहेको छु ।’ उनी थप्छन् ‘झण्डै तीन दशकदेखि पोखरा उद्योग वाणिज्य सङ्घमा जोडिएर आएको छु । ३४ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बनाएका हाम्रा मतदाताले स्वतः यसपालि तपाईँ नै हो भनिरहनु भएको छ । आशा छ त्यो लक्ष्यमा मलाई पुर्‍याउनु हुनेछ ।’

‘अग्रजले देखाएको बाटो, उहाँहरूले जोगाएको सङ्घको साखलाई म कदापि कमी हुन दिनेछैन’ २०५५ सालमा सङ्घमा सदस्यको रुपमा प्रवेश गरेका कार्कीले भने । अध्यक्ष पदको प्रत्यासी बनिरहँदा हालसम्म आर्जन गरेको अनुभव, सामाजिक संस्थाहरूमा दिएको योगदान र देशविदेशको भ्रमणबाट सिकेको ज्ञानलाई व्यावसायिक क्षेत्रमा लगाउने दृढ इच्छा आफ्नो भएको उनी सुनाउँछन् ।

मेरो लक्ष्य कर्मठ र इमानदार भएर व्यवसायीकै हकहित, सुख, दुःखको साथी बन्नु हो । उद्योगी, व्यवसायीहरूकै उत्थानको लागि अमनचयनका साथ व्यवसाय गर्न पाउने वातावरण निर्माणका लागि हातेमालो गरेर जानु हो । त्यसैले मलाई ३१ औं, ३३ औं र ३४ औं महाधिवेशनका दिनु भएको माया यसपटक अध्यक्षका लागि पाउछु भन्नेमा पूर्ण रुपमा विश्वस्त भएको छु । मैले गर्न सकिने कुराहरू मात्रै गरेको छु । मेरो ११ बुँदामा समेटिएका कुराहरू हाम्रा साझा कुरा हुन् । यिनिहरूको परिपूरणको लागि मात्र एकपटक यहाँहरूको साथ चाहिएको छ । उनले भने ।

पुराना संस्थागत असल कार्यहरूलाई निरन्तरता दिने, सङ्घलाई मर्यादित र व्यवसायीलाई सम्मानित हुने वातावरण बनाउने लक्ष्य समेत रहेको कार्कीले बताए ।

‘हामी पर्यटकीय राजधानीमा रहेकोले यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादित वस्तुहरूको बजारिकरणमा मात्रै ध्यान दिन सके तथा व्यवसाय सञ्चालनका लागि वित्तीय जोहो र वातावरण राम्रो नभई सम्भव हुँदैन । बैङ्क, वित्तीय क्षेत्रका समस्याहरूको उचित निकासको लागि नियामक निकायहरूसँग हरदम प्रतिफल आउने गरी काम गर्ने लक्ष्य छ’ उनले सुनाए ।

पोखरामा एयरपोर्ट बनाउन सङ्घको अगुवाईमा गरिएको सङ्घर्ष तथा ७६ दिनसम्मको अनशन ताजै भएकाे भन्दै अहिले एयरपोर्ट पनि तयार भइसकेको र आन्तरिक उडान मात्रै भइरहेकोमा यसलाई नियमित रुपमा अन्तराष्ट्रिय उडानको प्रत्याभूतिका लागि लागिरहने र उत्पादनका क्षेत्रहरुको पहिचान गरी उद्यमशिलताको विकासमा लाग्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको भदौ २८ र २९ गते हुने महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । दुबैले यतिबेला चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0