पोखरा । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।

नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो ।

गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फिर्कदै पुलिसले २५–१९ को जित हासिल गर्‍यो । तर, चौथो सेटमा एपीएफ खेलमा फर्कँदै २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै सङ्घर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जु विक्रम शाह घोषित भए । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भीम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे । उत्कृष्ट सर्भर एपीएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपीएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कँवर घोषित भए ।

विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे । भदौ १९ गतेदेखि चलेको प्रतियोगिताको महिलातर्फको उपाधि भने एपीएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपीएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल गर्‍यो तर, तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपीएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको महिलापुरुष दुवै तर्फ चार–चार टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0