पोखरा । पहिलो पटक भारत र श्रीलङ्कामा हुन लागेको दृष्टिविहीन महिला विश्वकप टि–२० क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा जारी छ ।  यही कार्तिक २५ अर्थात नोभेम्बर १२ तारिखदेखि हुने  टि–२०  विश्वकप क्रिकेटका लागि १६ जना खेलाडीहरूले हाल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । गत असोज २२ गतेदेखि काठमाण्डौमा प्रशिक्षण सुरु भएकोमा मैदान अभावका कारण कार्तिक ९ गतेदेखि टोलीले पोखरामा अभ्यास गरिरहेका हुन् । टोलीलाई हाल नेपाली सहित पाकिस्तानी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

 प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले सहभागिता जनाउदै छन् । नेपाली टोलीकी कप्तान गीता पौडेलले कार्तिक २२ गतेसम्म पोखरामै प्रशिक्षणमा रहने बताउँदै प्रतियोगिताको नतिजा नेपालकै पक्षमा ल्याउने बताइन् । उनले सबै खेलाडीहरूमा जोस जाँगर र उत्साह रहेपनि कुनैपनि टिमलाई कमजोर नठानी जितका लागि मेहनत गर्ने बताइन् ।

अभ्यास लगभग पुरा भएको बताउँदै नेत्रहीन क्रिकेट सङ्घ नेपालका महासचिव अमृत बरालले अहिलेसम्मको मेहनत र तयारी हेर्दा विश्वकप जित्ने दावी गरे । नेपाली टोलीसँग भारत, पाकिस्तान र इङ्ग्ल्याण्डलाई हराइसकेको अनुभव रहेको बताउँदै उपाधि जित्नेमा सकारात्मक रहेको बताए । सातै प्रदेशबाट छनौट भएर आएका खेलाडीहरू विभिन्न चरणको छनौटपश्चात विश्वकपका लागि छनौट भएका हुन् । महासचिव बरालले मैदान नहुँदा काठमाण्डौबाट पोखरामा अभ्यासका लागि आएको बताउँदै कार्तिक २५ गते खेलाडी, प्रशिक्षक र अफिसियलसहितको २० जनाको टोली विश्वकप खेल्नका लागि भारत प्रस्थान गर्ने बताए ।

नेपालको प्रतिनिधित्व गरेर विश्वकप खेल्न गइरहँदा नेपाल सरकारको तर्फबाट जति मात्रामा साथ र सहयोग प्राप्त हुनुपर्थ्यो त्यो नभएको महासचिव बरालको गुनासो छ । खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घले जर्सी तथा किटहरू उपलब्ध गराएको तर सरकारको तर्फबाट पर्याप्त  सहयोग नहुँदा नेत्रहीन क्रिकेट सङ्घले खेलाडीहरूलाई उचित सेवा सुविधा प्रदान गर्न नसकेको बरालले बताए । लामो समयको पहल पश्चात दृष्टिविहीन टी२० विश्वकप नेपाल र भारतमा हुने तय भएकोमा जेनजी आन्दोलनका कारण भारत र श्रीलङ्कामा प्रतियोगिता आयोजना हुन लागेको महासचिव बरालले बताए ।

नेत्रहीन क्रिकेट संघ नेपालको स्थापना  वि.सं.  २०६३ सालमा भएको थियो भने २०६४ सालमा पोखराबाट नै नेत्रहीन महिला क्रिकेटको सुरुवात भएको थियो । विश्वमै नेत्रहीन महिला क्रिकेटको सुरुवात नेपालबाट सुरु भएको समेत महासचिव बरालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0