पोखरा । पर्यटनको राजधानी सहर पोखरामा हाल पोखरा भ्रमण वर्ष-२०२५ चलिरहेको छ । भ्रमण वर्ष सकिन अब मुस्किलले दुई महिनामात्र बाँकी रहँदा यहाँका पर्यटन व्यवसायी तथा महानगरपालिकाले पर्यटक भित्राउन निकै कसरत र दौडधुप गरिरहेको छ ।
भ्रमण वर्षको अवधिभर पोखरामा स्वदेशी र विदेशी गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । लक्ष्य अनुसारको पर्यटक भित्राउन नसकिएपनि तिहारपछि पोखरामा पर्यटकको आवागमन उत्साहजनक नै रहेको पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले बताएका छन् । मुख्य सिजनकै सुरुमा जेनजी आन्दोलनसँगै वर्षा र पहिरोका कारण हवाई मार्ग तथा सडकमार्ग अवरुद्ध हुँदा पर्यटकको आवागमन निराशाजनक थियो तर मौसम र परिस्थिति अनुकुल बन्दै गएपछि पर्यटकको आवागमन बढ्दै गएपछि व्यवसायीहरू पुनः दौडधूपमा लागेका हुन् ।
भ्रमण वर्षको अवसरमा नेपालको सिमानासँग जोडिएको दुई ठूला देश चीन र भारतबाट बढिभन्दा बढि पर्यटक पोखरासहित गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा भित्राउन प्रयास गरिरहेको संयोजक भट्टराईले बताए । त्यसका लागि पर्यटकको आवागमन बढिरहेकै समयमा भारतीय मिडिया, युट्युब ब्लगर, सोसल मिडिया ईन्फ्लुएन्सरसँग बिजनेस टु बिजनेस अर्थात बिटुबी सहकार्य गर्न लागिएको बताए । भ्रमण वर्षलाई नै लक्षित गरेर अङ्ग्रेजी नयाँवर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवलाई समेत थप व्यवस्थित बनाउने तयारीमा रहेको संयोजक भट्टराईले बताए । उनले भने, “हामीले इन्डियाका पत्रकार, ब्लगर, सोसल मिडिया ईन्फ्लुएन्सरहरुसँग कनेक्ट गरेर पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको कुस्मा, बागलुङ पर्वत, बन्दिपुर र गोर्खालाई समेटेर बिटुबी गर्ने प्लान छ, भ्रमण वर्ष सकिएपनि पर्यटन प्रवर्द्धन गर्ने र पोखराको ब्रान्डिङ गर्ने हाम्रो अभियान रोकिदैन ।”

भ्रमण वर्ष सकिएपनि पर्यटन प्रवर्द्धनको काम नरोकिने संयोजक भट्टराईको भनाई छ । पर्यटन प्रवर्द्धनका लागि लेखनाथका पर्यटन व्यवसायीहरूको टोली पश्चिम तिर गएर आएको बताउँदै उनले हाल पोखराको पर्यटनसँग सम्बन्धित सबैजना पोखराको ब्रान्डिङमा लागेको बताए ।
पर्यटन प्रवर्द्धनमा हवाई कनेक्टिभिटीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै त्यसका लागि पोखराबाट सिधा हवाई उडान गर्नका लागि सिचुवान एयरलाइन्ससँग छलफल भएको तर जेनजी आन्दोलन लगायतका नेपालमा उत्पन्न परिस्थितिका कारण त्यसमा ढिलाई हुन गएको संयोजक भट्टराईले बताए । पोखराको पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड आदिसँगको सहकार्य र समन्वय गर्ने बताए । यसका अलावा स्थायी सरकार नहुँदा समेत अपेक्षित मात्रामा पर्यटन प्रवर्द्धन गर्न नसकिएको बताउँदै अब हुने निर्वाचनपश्चात स्थायी सरकार बन्नेमा आशावादी रहेको बताए ।
२५ सदस्यीय पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिले पोखरामा पर्यटन प्रवर्द्धनका लागि सिजन र अफसिजन गरि दुइ भागमा विभाजन गरेर काम गरेको संयोजक भट्टराईले बताए । उनले तिहारकाे समयमा पोखरामा होटलको अकुपेन्सी ९० प्रतिशत सम्म पुगेको बताए । अहिले ५० प्रतिशतको हाराहारीको अकुपेन्सी रहेको भन्दै अग्रेजी नयाँ वर्षको समयमा पर्यटक आवागमन बढेर महानगरको लक्ष्य पुरा हुने विश्वास गरेका छन् ।











