पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित ह्याङ्जाकोट घरवास (होमस्टे) आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ । नजिकबाट हिमाल अवलोकनसहित अर्गानिक खानाको स्वाद लिनका लागि ह्याङ्जाकोट पोखराबाट पुग्न सकिने नजिकको गन्तव्य हो । पोखरा हरिचोकदेखि करिब एक घण्टामा पुग्न सकिन्छ ।
वि.सं. २०६२ सालदेखि घरवास सञ्चालन सुरु भएको ह्याङ्जाकोटका पहिलो घरबास सञ्चालक ईश्वर गुरुङका अनुसार विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरू आउने गरेका छन् । कोरोनाअघि १६ घरमा घरवास सञ्चालनमा रहेकोमा कोरोना कहरको समयमा पर्यटकीय आवागमन नभएपछि ४ घर होमस्टे विस्थापित भएको र हाल १२ वटा घरवास सञ्चालनमा रहेको छ ।
घरबास घटेपनि घरवासको क्षमता वृद्धि गरिएको कारण दैनिक एक सय जना पर्यटकलाई सजिलै राख्न सकिने गुरुङले बताए । २० वर्षअघि घरबास सुरु गर्दा धम्पुस जान छाडेर पर्यटकहरू ह्याङ्गजाकोट कसरी आउँछन् भन्दै मानिसहरूले उडाउने गरेको स्मरण गर्दै गुरुङले हाल सप्ताहन्तमा आफ्नो होमस्टेमा पर्यटकहरू भरिभराउ हुने गरेको बताए ।
शान्त र मनोरम गाउँले परिवेश, गुरुङ मौलिक संस्कृतिसँगै हिमालको मनोरम दृश्यावलोकनका लागि पर्यटकहरू यस गाउँमा पुग्ने गर्दछन् । ह्याङ्गजाकोटमा म्युजिक भिडियो तथा चलचित्र छायाँकङ्न समेत हुने गरेको छ । नेपाली चलचित्र टलकजङ्ग भर्सेज टुल्केको छायाँकङ्न समेत यही गाउँमा भएको थियो । ह्याङ्जाकोट घरबासमा पुग्ने पाहुनालाई पञ्चेबाजासहित स्वागत गरिन्छ । ह्याङ्जाकोट घरबासमा प्रतिव्यक्ति १२ सय को प्याकेजको व्यवस्था रहेको छ । जसमा पाहुनालाई गएको दिन खाजा, साँझको खाना, आवास र भोलिपल्ट बिहान खाजाको व्यवस्था हुन्छ । सञ्चालक गुरुङका अनुसार पाहुनाले गाउँमै उत्पादित अन्न, फलफूल, सागसब्जी, मासु, गोरस एवं घर मौरीको महको स्वाद लिन पाउँछन् ।
साविकको धिताल गाविसमा पर्ने यस घरबास धिताल ह्याङ्जाकोट घरबासको नाममा वि.सं. २०६२ सालमा दर्ता भएको थियो । पोखराको हरिचोक, मिलनचोक, अस्ताम हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ । यहाँ घरबास बस्न थालेपछी ल्वाङ घलेलतिर घरबास पर्यटन सर्दै गएको स्थानीयको भनाई छ । घरबास सञ्चालकहरू घरबासका लागि सहुलियतपूर्ण ऋण वा अनुदान प्रदान गर्नुपर्ने बताउँदै आएका छन् । यसवर्ष सरकारले सामुदायिक घरवासका लागि १० लाख अनुदान समेत प्रदान गरेको थियो ।











