पोखरा । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा रहेको प्याराफिटमा काठको ‘फ्लोरप्लेट’ हटाएर स्टिलको नयाँ ‘फ्लोरप्लेट’ जडान गर्ने कार्य पचास प्रतिशत सकिएको छ । ठेकेदार कम्पनी नेपाल र भारतको जोइन्ट भेन्चर निर्माण कम्पनी एमए कन्स्ट्रक्सनले तीन महिनामा काम सकाउनेगरी गत साउनदेखि काम सुरु गरेकोमा हालसम्म जम्मा ५० प्रतिशत काम सम्पन्न भएको हो ।  

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीका अनुसार १६ हजार ५ सय सिट क्षमता रहेको नेपालकै सबैभन्दा ठूलो पोखरा रङ्गशालामा भीआईपी रो र मैदानको दक्षिणतर्फको प्यारापिटमा स्टिलको ‘फ्लोरप्लेट’ बिच्छाउने कार्य सम्पन्न भएको छ । बीचमा जेनजी आन्दोलन र चाडबाडका कारण काममा बाधा आएको र अहिले तीव्र गतिमा काम भइरहेकोले अबको दुई महिनाभित्र काम सक्ने जनाईएको छ ।

तीन वर्षअघि २०७९, असोजमा एमए कन्ट्रक्सन जावलाखेल ललितपुर जेभी र भारतीय कम्पनी ग्रेट स्पोर्टस्ले ‘फ्लोरप्लेट’सिट जडान गरेका थिए । उक्त ‘फ्लोरप्लेट’ घाम र पानीका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि नयाँ ‘फ्लोरप्लेट’ जडान गर्न सुरु गरिएको हो ।  दुई कम्पनीले जडान गरेको ‘फ्लोरप्लेट’ सिटमा दर्शक बस्न नमिल्ने भएपछि त्यसलाई परिवर्तन गर्न सुरु गरिएको  प्रमुख नेपालीको भनाई छ ।

पोखरा रङ्गशालाको प्यारापिटमा यसअघि फ्रान्सका कम्पनीको प्लाइउड थियो । अहिले राखिएको स्टिलको सिट चितवनस्थित जलप नेपालमा तयार गरिएको हो । हाल कामदारहरूले रङ्गशालामै बसेर काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0