पोखरा । कात्तिक दोस्रो साता भएको बेमौसमी वर्षाका कारण पोखरा फेवाफाँट सहितका विभिन्न फाँट तथा टारीमा लगाइएका धानबालीमा असर परेको छ । गएको वर्ष धानबालीमा गोब्रे नामक किराले नोक्सानी पुर्याउँदा समस्यामा परेका कृषक यो वर्ष अघिल्लो वर्षमा भएको क्षति समेतको पूर्ति हुने आशामा थिए । तर, बेमौसमी वर्षाले काट्ने समय भएको धानमा क्षति गरेको कृषकहरूको गुनासो छ । लगातारका वर्षाको कारण अधिकांश धान ढलेका छन् । वर्षा अगावै काटेका धान खेतमै कुहिएर उम्रिएका छन् । नकाटेका धान पनि पानीले कालो रङको भई मख्खिन थालेका छन् । यसले किसानलाई चिन्ता थपेको छ ।
यता पोखरा महानगरपालिकाले गत हप्ता भएको वर्षाले धानबालीमा पुराएको क्षतिको प्रमाण र विवरण उपलब्ध गराउन कृषकलाई आग्रह गरेको छ । महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले कार्तिक दोस्रो हप्ता भएको वर्षाले पोखरा महानगरपालिकाभित्र लगाइएका धानबाली पूर्ण रुपमा ढलेको, डुबान भएको, धान भिजेको वा उत्पादन नै आउन नसक्ने अवस्था छ भने त्यसको फोटो भिडियो वा विवरण पेस गर्न भनेका हुन् । उनले धानबालीमा ठूलो क्षति पुगेको भए महानगरले उचित राहत उपलब्ध गराउने र राहत उपलब्ध गर्न नसकेको खण्डमा आगामी हिउँदे सहित महाशाखाले कृषिमा गर्ने आगामी कार्यक्रमहरूमा प्राथमिकता दिने बताएका छन् ।
यसअघि मौसम अनुकुल रहनुका साथै फाँटहरूमा धानबाली सप्रिएकाले कास्कीमा यसवर्ष धानको उत्पादन बढ्ने आँकलन गरिएको थियो । तर धान काट्ने समयमा पानी परेपछि महानगरमा धानबाली कुहिएको र ढलेको गुनासोहरू आउन थालेको प्रमुख कडरियाले बताए । पोखरामा ४० प्रतिशत खेतमा रैथाने जेठोबुढो धान लगाउने गरिन्छ भने बाँकी खेतमा स्थानीय प्रजातिका पहेँले, झिनुवा लगायत सहित हाइब्रिड धान लगाउने गरिन्छ । प्रति दश वर्गमिटर क्षेत्रफलमा कति धान उत्पादन हुन्छ भनी क्रप कटिङ विधिबाट उत्पादनको विश्लेषण गर्ने गरिन्छ । प्रमुख कडरियाले अब महानगरमा कति क्षेत्रफलको धान ढल्यो र कति क्षेत्रफलको धान सग्लो छ भनी अध्ययन गरेर उत्पादनमा परेको असर पत्ता लगाउने बताए ।
महाशाखा प्रमुख कडरियाले अझैपनि पानी पर्न सक्ने बताउँदै धानबाली भित्राउँदा ध्यान दिन आग्रह गरे । काटिसकेको धान समयमै थन्क्याउन र काट्न बाँकी धानलाई मौसमको ख्याल गरेर मात्र काट्न आग्रह गरे । उनले विशेषगरी जेठोबुढो धान हरियो नै रहेकाले पानी पर्दा ढल्ने सम्भावना हुने बताउँदै त्यसबारे सचेत हुन कृषकलाई आग्रह गरे । खेतबाट पानी काट्न र सुख्खा बनाउदै लैजान आग्रह गर्दै यसले धान छिप्पिनका लागि सहयोग पुग्ने उनको भनाई छ ।












