पोखरा । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।  विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कप्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो ।

हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम)मा अध्ययनअध्ययापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो ब्याचको छात्रा समेत हुन् । उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन् ।

अरुणालाई सम्मान गर्दै मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रुपमा प्राप्त सफलता प्रति बधाई दिँदै पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरू देखिन थालेको बताए । नेपाली महिला खेलाडीहरूले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने कार्यमा महत्वपूर्ण रहेको उल्लेख गरे ।

विश्वविद्यालयका कुलपति प्रा.डा.गणेश मान गुरुङले विश्वविद्यालय आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाल भरी आकर्षण बढाउन सफल रहेको र केही वर्षमा नै नेपालको उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको बताए । विश्वविद्यालयले विभिन्न अनुसन्धान मूलक विषयहरूको खोजी गर्दै ति विषयहरूमा अध्यापन सुरु गरेको उनले जनाए । आफ्नो विश्वविद्यालयकी छात्रा अरुणाले अध्ययन सँगै खेलकुदमा समेत महत्वपूर्ण सफलता प्राप्त गरेकोले विश्वविद्यालय परिवार निकै गौरवान्वित रहेको जनाउँदै गण्डकी प्रदेश सरकारले विश्वविद्यालयबाट उत्पादित हुने जनशक्तिलाई यथाशीघ्र सरकारले नीति निर्माण गरी उनीहरूलाई अवसर दिन ढिलाई गर्न नहुने बताए ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले अनुसन्धानमुलक विषयहरू संगै एआईए जस्ता विषयहरूमा अध्यापनका लागि अघि बढाएको बताउँदै त्यही अनुरूप खेलकुद क्षेत्रलाई समेत जोडेको बताए । नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरूको पहुँच होस र उनीहरूले अवसर प्राप्त गर्न सकुन् भन्ने अभिप्रायले विएसएम विषय सुरु गरेको बताउँदै आफ्नो विद्यार्थी अरुणाले अध्ययन सँगै नेपाली खेलकुदमा गौरव बढाउने कार्य गर्न सफल भएकोमा बधाई दिए ।

सो अवसरमा बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले सम्मानका लागि विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै खेलकुद सँगै अध्ययन अपरिहार्य रहेको औँल्याइन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न समेत अध्ययन आवश्यक रहेको बताउँदै नेपाली खेलाडीहरुलाई विश्वविद्यालयले दिएको अवसरलाई लिन आग्रह समेत गरिन ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्टार डा.कैलाश तिमिल्सिनालगायत विश्वविद्यालय विभिन्न विभागका प्रमुख, विश्वविद्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0