पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
यो सँगै गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या ७ बाट बढेर ९ पुगेको छ । काङ्ग्रेस र एमालेबीचमा ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि हाल कायम मन्त्रालय फुटाइएको उनले खुलाए ।
लामो समयदेखि एमालेले ७ वटा मन्त्रालय मात्र कायम गरेर केन्द्रको समीकरण अनुसारको सरकार गठन गर्न आग्रह गरेपनि मुख्यमन्त्री पाण्डेले प्रस्ताव अस्वीकार गर्दै आएका थिए । अब मन्त्रिपरिषद्मा एमालेबाट ४ जना मन्त्री समावेश गरिनेछ ।
एमाले र काङ्ग्रेसकाबीचमा मन्त्रालयको बाँडफाँड भने भइसकेको छैन । एक दुई दिनमा मन्त्रालयको बाँडफाँड सहित एमाले सरकारमा सहभागी बन्ने मुख्यमन्त्री पाण्डेको भनाई छ ।