पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयले महिलाको क्षमता विकास तथा सशक्तिकरणको कार्यक्रममा प्राथमिकता दिने गरेको छ । जसको लागि वडाका विभिन्न टोल टोलमा पुगेर तालिम सञ्चालन गर्ने गरिएको छ । सोमबार वडाका पाँच ठाउँमा आयोजना गरिएको महिलाको क्षमता विकास तथा सशक्तिकरणको कार्यक्रम र मादल बजाउने तालिमको समेत एकमुष्ठ समापन गरेर सहभागीलाई प्रमाणपत्र वितरण गरियो । यसका अलावा समापन कार्यक्रमको अवसरमा स्वास्थ्य सम्बन्धी अभिभुखिकरण कार्यक्रम समेत आयोजना गरियो । हरियोखर्क अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा करिब तीन सयजनाले सहभागिता जनाए । उनीहरूले तालिम बाट प्राप्त उपलब्धिको बारेमा समेत चर्चा गरे ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले राज्यले महिलाहरूका लागि पनि हक अधिकार र कानुनहरू तयार पारिसकेको अवस्थामा अब पनि अधिकार छैन भनेर बस्न नहुने बरु आफ्नो अधिकारबारे बुझेर आर्थिक सशक्तिकरणमा लाग्नुपर्नेमा जोड दिइन् । उनले कानुनको अज्ञानता क्षम्य नहुने भएकाले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नगर्न पनि आग्रह गरिन् । 

उपप्रमुख गुरुङले वडाले करिब ३ सय जना महिलाहरूलाई वडाले मादल बजाउनेदेखि कानुनी सचेतना, क्षमता अभिवृद्धि तालिम प्रदान गरेकोप्रति खुशी व्यक्त गरिन् । अब पूर्वाधार विकासलाई मात्रै विकास मान्ने धारणामा परिवर्तन गरेर मानवीय विकासमा पनि समाजले ध्यान दिनुपर्ने बताइन् । 

तालिम समापन समारोहकै अवसरमा सहभागीहरूलाई इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) को आयोजनामा कुष्ठरोग, यसको वर्तमान अवस्थाबारे अभिभुखिकरण गरिएको थियो । कुष्ठरोगको सन्दर्भमा बोल्दै उपप्रमुख गुरुङले कतिपय ठाउँहरूमा कुष्ठरोग लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन आउन नसकेको बताइन् । उचित औषधोपचार पाएमा कुष्ठरोग निको हुन सक्छ भन्नेबारे तालिममा सहभागीहरूले आफ्नो घरपरिवार र समाजमा बुझाउन जरुरी रहेको बताइन् । 

पोखरा १५ का अध्यक्ष तोरण बानियाँले महिला सशक्तिकरण र क्षमता अभिवृद्धिका लागि वडाभित्रका महिलाहरूलाई ५ वटा समुहमा विभाजन गरेर छुट्टाछ्ट्टै स्थलमा तालिम प्रदान गरिएको जानकारी दिए । एकैठाउँमा तालिम प्रदान गर्दा कम प्रभावकारी हुने भएकाले छुट्टाछुट्टै स्थलमा तालिम आयोजना गरेर एकैठाउँमा समापन गरिएको अध्यक्ष बानियाँको भनाई छ । नारीहरू जबसम्म शसक्त बन्न सक्दैनन् तबसम्म समाज अगाडि बढ्न सक्दैन भन्ने भावका साथ कार्यक्रम गरिएको अध्यक्ष बानियाँले बताए । 

वडाले भौतिक पूर्वाधारलाई मात्र विकास नमानेर यस्ता खालका तालिम, खेल गतिविधि, सशक्तिकरणको कार्यक्रम, सीप विकास सम्बन्धी तालिम लगायतलाई जोड दिदैँ आएको सुनाए । तालिम समापन समारोहमा संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियार, वडासदस्यहरू सेती माया गुरुङ, आशिष भण्डारी र बलराम पौडेल, वडासचिव युवराज पौडेलले बोलेका थिए ।

  जागृति आमा समुहको तर्फबाट डिलमाया बुढाथोकी, फुलबारी आमा समुहबाट विष्णु गिरी, लक्ष्मी टोल आमा समुहबाट दुर्गा राना, अलकापुर आमा समुहबाट गिता शर्मा र आदर्श आमा समुहबाट कल्पना अधिकारी बानियाँले बोल्दै तालिम तथा अभिभुखिकरण कार्यक्रम पश्चात आफुमा आएको सकारात्मक परिवर्तनका बारेमा भनाइ राखेका थिए । सो कार्यक्रममा स्वास्थ्य सम्बन्धी अभिभुखिकरणमा सहजिकरण डा. सुरज श्रेष्ठ र याम बहादुर जिसीले गरे । उनीहरूले कुष्ठरोगबारेका सहभागिलाई जानकारी गराएका थिए । पोखरा १५ का वडाध्यक्ष बानियाँले  आगामि आर्थिक वर्षमा समेत क्षमता विकास र शसक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0