पोखरा । पोखरा महानगरपालिकाको १७ औँ नगरसभा आइतबारबाट शुभारम्भ भएको छ । नगर सभा मार्फत आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ । १७ औं नगरसभामा पोखराका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सङ्घीय सरकारको सशर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट रु.५ अर्ब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन भए पनि जेठ मसान्तसम्म ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् ।
यसअगाडि पोखरा सभागृहमा सुरु भएको नगरसभामा महानगरपालिकाका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाको शुभारम्भमा शुभकामना मन्तव्य राख्दै नेपाली काँग्रेस संसदीय दलका नेता तथा पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले सबै जनप्रतिनिधिहरूमा एकता आवश्यक रहेको बताए ।
नेकपा एमाले संसदीय दलका नेता एवं पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले महानगरपालिकाको नीति तथा कार्यक्रममा महानगरभित्रका सबै वडाका आवश्यकताहरूलाई समेट्न नसकेको बताइन् । उनले नीति तथा कार्यक्रममा केही सुधार गर्नुपर्ने बताउँदै बजेट ल्याउने समयमा सुधार गरेर ल्याउनुपर्ने बताइन् । महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोति तिम्सिनाले महानगरले गरेका कार्यको प्रचार प्रसार हुन नसकेको बताए । उत्कृष्ट कार्य हुँदाहुँदै पनि तीनको बारेमा जानकारी बाहिर आउन नसकेको भन्दै जनप्रतिनिधिले त्यसमा ध्यान दिनुपर्ने बताए ।
