पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा डिजिटल मार्केटिङ सम्बन्धी तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमकाबीच वडाध्यक्ष तोरण बहादुर बानियाँले उद्‌घाटन गरे । 

नेपालको दीर्घकालीन राष्ट्रिय सोच “समृद्ध नेपाल, सुखी नेपाली”, “डिजिटल नेपाल फ्रेमवर्क” र “स्थानीय सरकार सुदृढीकरण तथा युवा सशक्तीकरण” जस्ता नीतिगत दस्तावेजमा प्रतिवद्ध गरिएको लक्ष्य प्राप्त गर्न तालिम फलदायी हुने वडाध्यक्ष बानियाँको विश्वास छ । उनले यस तालिमले युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई आधुनिक, प्रतिस्पर्धी र सशक्त जनशक्तिका रूपमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण आधार बनाउने बताए ।

 युवाहरूमा डिजिटल मार्केटिङको आधारभूत ज्ञान प्रदान गर्दै प्रविधिमैत्री व्यवसायिक सोच र सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडा सचिव युवराज पौडेलको भनाइ छ । यसका अलावा स्वरोजगार र उद्यमशीलताको प्रोत्साहन गर्ने लक्ष्य तालिमको रहेको उनले बताए । स्थानीय उत्पादन तथा सेवा प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहित गर्ने र विद्यमान व्यवसायलाई डिजिटल ट्रान्सफरमेसन तर्फ उन्मुख गराउने उद्देश्य तालिमको भएको समेत उनले खुलाए ।

१० दिने डिजिटल मार्केटिङ सम्बन्धी तालिम असार १७ गतेसम्म सञ्चालन हुनेछ । तालिम अगाडि गत शुक्रबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो । तालिममा वडा नं १५ भित्रका २३ जना युवाहरूको सहभागिता रहेको वडा सचिव पौडेलले जनाए ।

वडाध्यक्ष बानियाँले सहभागीलाई १० दिनको तालिमबाट आफूमा दक्षता अभिवृद्धि गर्दै सिकेको सीपलाई व्यवहारमा लागू गर्ने लक्ष्यका साथ ध्यान दिएर सिक्न आग्रह गरे । सिद्ध माध्यमिक विद्यालयको सूचना प्रविधि ल्याबमा तालिम सञ्चालन गरिएको तालिममा डिजिटल मार्केटिङको परिचय र करियर सम्भावनाबारे ज्ञान प्रदान गरिनेछ ।

यसैगरी सर्च इन्जिन अप्टिमाइजेसनको आधारभूत ज्ञान, फेसबुक इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालको मार्केटिङ, कन्टेन्ट मार्केटिङ र कपिराइटिङ सीप, इमेल मार्केटिङको परिचय र अभ्यास, गुगल एड्स र बुस्टिङ कन्सेप्ट, क्यान्भाको प्रयोग गरी डिजाइन बनाउने अभ्यास, डिजिटल मार्केटिङका लागि ब्रान्डिङ रणनीति, व्यवसायलाई अनलाइनमा प्रवर्द्धन गर्ने अभ्यास, फ्रिलान्सिङ लगायतका विषयमा प्रशिक्षण गरिने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0