पोखरा । गण्डकी प्रदेशको लोक गीतको क्षेत्रमा रौनकता थप्दै ‘प्रथम गण्डकी लोकतारा’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले  पहिलोपटक आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’  नयाँ प्रतिभालाई दर्शकमाझ परिचित हुने राम्रो अवसर बन्न सफल भयो । प्रतिष्ठानका शाखा रहेका गण्डकी प्रदेशका ९ जिल्लामा आयोजना गरिएको अडिसन, हरेक जिल्लाबाट छानिएका २–२ जनाको पोखरामा भएको प्रतिष्पर्धा लगायतका गतिविधिको कारण लोक सङ्गीतको क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । प्रतियोगिताको अभावमा आफ्नो प्रतिभा सुनाउने र निखारता थप्न नपाएका प्रतिभालाई यस्ता खालका प्रतियोगिताले मञ्च मात्रै प्रदान गर्दैन यात्रालाई एउटा लयमा हिड्‌न सहयोग पुर्‍याउँदछ । यस्तै थलो बन्न सफल भएको छ ‘प्रथम गण्डकी लोकतारा’ ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको अन्तिम प्रतिष्पर्धामा अब्बल बन्दै बागलुङका प्रेम विकले उपाधि आफ्नो पोल्टामा पारे । उनले उपाधिसँगै नगद ५१ हजार १ सय ११ रुपैयाँ हात पार्न सफल भए । स्याङ्जाकी शिला गुरुङले द्वितीय स्थान हासिल गर्दै ३१ हजार १ सय ११ रुपैयाँ, म्याग्दीका विजय परियारले तृतीय स्थान हासिल गर्दै  २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर पाउनेछन् । सान्त्वना स्थान हासिल गरेका स्याङ्जाका दिलीप मानन्धरले ११ हजार १ सय ११ रुपैयाँ हात पारे । उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारले जिते । 

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए । जसका लागि गण्डकी प्रदेशका मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिले आफनो प्रस्तुती राख्दै गर्दा दर्शकबाट प्राप्त हुटिङ र साथले थप उर्जा थपेको देखिन्थ्यो ।

विश्व सङ्गीत दिवसको अवसर पारेर गरिएको कार्यक्रमको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे ।  कार्यक्रममा प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर विशिष्ट अतिथिको रुपमा रहेकी थिइन् ।

प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका थिए । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा र गायिका शान्ति गुरुङ थिए । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैपति प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले आभार व्यक्त गरेका छन् । कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी पौडेलले गरेका थिए । प्रतियोगिका अलावा चर्चित कलाकारको प्रस्तुतीले समेत माहोल रमणिय बनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0