म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन् । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसरमा मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै पर्वतारोहण क्षेत्रको विकासका काम भैरहेको बताएका हुन् ।
नेपालमा रहेका हिमालय क्षेत्रमा हुने पर्वतारोहण र हिमाल आरोहणलाई कम जोखिमयुक्त बनाउन वर्तमान सरकार लागिपरेको प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले पर्वतारोहणलाई सुरक्षित र भरपर्दो बनाउन तथा हिमाल आरोहीहरूको आकर्षण बढाउनको लागि आधारशिविर लगायतका क्षेत्रहरूमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
प्रधानमन्त्री ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताउँदै विश्वको दशौं अग्लो ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायत नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरी हिमाल आरोहणको सुरुवात गरेको उल्लेख गरे । उनले अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगका कारण फ्रान्स र नेपालबीच मित्रताको सम्बन्ध स्थापित भएको समेत बताए। तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तव्यहरू भएको बताउँदै उनले अन्नपूर्ण क्षेत्रमा रहेका सुन्दर हिमालहरू, झरना र पर्यटकीय स्थलहरूलाई राष्ट्रिय उन्नतिमा समेत टेवा पुर्याएको बताए ।
प्रधानमन्त्री ओलीले अन्नपूर्ण क्षेत्रमा सुरुङमार्ग, केबलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउँदै मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड र लोमान्थाङ पर्यटकीय स्थलहरू भएकाले यसको विकास गरेर थप पर्यटन भित्राउन सकिनेमा जोड दिए । सरकारले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको प्रधानमन्त्री ओलीले सुनाए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय क्षेत्र लक्षित पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताए। उनले नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रको विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने बताउँदै आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोही र पर्वतारोहीलाई सरकारले सहयोग गर्ने जानकारी दिए ।
सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्याल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाउनुका साथै हिमाल आरोहणका क्षेत्रको विकासमा सहयोग पुर्याएको बताएका थिए।
सन् १९५० जुन ३ तारिख अर्थात् आजैको दिन पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुईस लचेनलले पाइला टेकेपछि विश्वका ८ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको हो । अहिले अन्नपूर्ण प्रथमको आधारशिविर जाने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।
