पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं. ३ कमिटीले नदीपुरकी मीना पुनसँग ३ लाख घुस मागेको घटनामा वडाध्यक्ष प्रकाशमान उदास र सदस्यको राजीनामा माग गरेको छ । सो काण्डले जनप्रतिनिधिको जिम्मेवारीपना र औचित्यता समाप्त भएको दाबी गर्दै एमालेले वडावासीको चाहना अनुसार वडा अध्यक्ष उदास र सदस्यले नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो ।
एमाले पोखरा ३का वडा कमिटीका अध्यक्ष विष्णुशङ्कर ख्वाउँजूले प्रेस विज्ञप्ति निकालेर सो काण्डमा वडा अध्यक्ष उदासले मिलेमतोमा आफू स्वयं मुछिएको स्वीकारेको अवस्थामा संलग्न जनप्रतिनिधि र कर्मचारी उत्तिकै दोषी भएको दाबी गरे । ‘यो वडा कार्यालयमा भएको प्रतिनिधिमूलक घटना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा र अहिले समेत वडावासी ढिलासुस्ती, घुस प्रकरण र भ्रष्टाचारबाट आजित छन् ।’ विज्ञप्तिमा वडा कार्यालयको निर्णय पुस्तिकामा लेखिएका निर्णय भएर लेखिएका विषय बाहेक पछि अध्यक्ष उदास र सचिवको मिलेमतोमा थपघट गर्ने, च्यात्ने र लुकाउने जस्ता गैर कानुनी काम भएको आरोप लगाइएको छ ।
वडा सचिव चन्द्रावती वाग्ले हुँदासमेत आर्थिक अपचलनका घटना भएको दाबी गर्दै विज्ञप्तिमा वडा सदस्यहरू सनकमान सिके र नवीन आलेले वडा सचिव र अध्यक्ष उदासको घर पसलमा वडा कार्यालयको काम हुने समेत सामाजिक सञ्जालमा सङ्गीन आरोप लगाएको उल्लेख छ ।
वडाध्यक्ष उदाससहित वडा सदस्यले ३ वर्षको अवधिमा जनताको भन्दा पनि तलव खानेमात्र काम गरेको आरोप लगाउँदै एमालेले ३ लाख घुस प्रकरणमा वडा अध्यक्ष उदास लगायत संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ । अध्यक्ष उदास २०७९ साल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
