पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालीन पुनर्स्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनर्स्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा उक्त केन्द्र सञ्चालन हुने भनाई उनको छ । “सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा अहिलेसम्म समस्या भएको थियो । अब त्यस्तो समस्या छैन । पुनर्स्थापना केन्द्र सञ्चालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । सोहीअनुसार सञ्चालन हुनेछ ।”, उनले भने । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गरे । अब मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको उनको भनाई छ । आत्महत्या दर शून्यमा झार्ने लक्ष्य सहित प्रदेश सरकार लागि रहेको उनले बताए । राज्यले अभिभावकत्व ग्रहण गर्दै पुनर्स्थापना कार्यक्रमलाई अगाडि बढाउने कुरामा विश्वस्त हुन उनको आग्रह छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिक पुनर्स्थापना केन्द्रको उद्घाटन आफ्नो कार्यकालको महत्वपूर्ण कार्य भएको बताए । पुर्नस्थापनाको केन्द्र सञ्चालनमा गण्डकी सरकारबाट कुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यहीअनुरूप हुने उनले जानकारी गराए । हिंसापिडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको मन्त्री थापाले बताएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फन्डको कारण योजनाहरू अलपत्र पर्नु नहुने बताए । प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने भनाई उनको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुनेगरि सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी रिजल्ट दिने ढङ्गले अगाडि बढ्नुपर्ने औंल्याए । कार्यक्रममा कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृह हुनुपर्छ भन्ने उद्देश्यले आफूहरू लागेको र त्यसले सार्थकता पाएको बताइन् ।
“संरचना तयार भए पनि कार्यान्वयन हुन नसक्नु दुःखद थियो । तर अब सरकार संवेदनशील बनेको आभाष भएको छ ।”, उनले भनिन् । पुनर्स्थापना केन्द्र सञ्चालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भए तापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको विशेष पहलमा उक्त केन्द्र अहिले सञ्चालनमा आएको हो । केन्द्रको उद्घाटनसँगै अहिले घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनस्र्थापनाको थालनी हुने विश्वास गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सांसद भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोलेका थिए । समाजमा दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता र यसको प्रभावकारितालाई मध्यनजर गर्दै उद्घाटन भएको यो केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
