हेमजा । हेमजा युनाइटेडको आयोजना गरेकाे अन्तर वडा स्तरीय फुटबलको फाइनल शनिबार हुने भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ जेठ १० गते देखि सुरु भएको प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल सम्पन्न भए । विहीवार भएको वडा नं. २५ र १ बिचको सेमिफाइनल खेलको निधारित समयमा दुवै टिमले २/२ गोल बराबरीको नतिजा निकाल्दा खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा वडा नं.१ ले वडा नं.२५ लाई ५–३ को गोल अन्तरले पछि पार्दै फाइनल प्रवेश गर्न सफल भयो ।
बिहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नंं. १५ ले वडा नं.५ लाई ४–१ को गोल अन्तरले पछि पार्दै फाइनलको यात्रा सुनिश्चित गर्यो । अब जेठ १७ गते शनिबार वडा नं. १ र १५ बीच उपाधिको लागि प्रतिष्पर्धा हुनेछ । फाइनल खेल दिनको ठिक १ बजे हुने खेल संयोजक इन्द्र बहादुर कुवँरले जानकारी दिए ।
हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उप–विजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफी साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिको म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।
प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा नं. २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो । गण्डकी प्रदेश फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, र जिल्ला फुटबल समितिको विशेष सहयोगीको भूमिका रहेको छ ।
