पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला प्रतियोगिता कतै राष्ट्रिय भजन प्रतियोगिता कतै सत कुण्डीय हवन, आध्यात्मिक अनुष्ठानहरूमा दर्शन गर्ने भक्तजनहरूको भिड देखिन्थ्यो । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रुतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
सोमबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिको गाउँका जनप्रतिनिधि र उनले अध्ययन गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्षको सहभागिताले महायज्ञमा ऊर्जा थपिएको थियो ।
कोटिहोममा महाराजको गाउँ धुर्कोट गाउँ पालिका वडा नं. ५ का वडा अध्यक्ष केशवराज भण्डारी, महाराजले अध्ययन गरेको विद्यालय हिमालय माविका अध्यक्ष लोकहरी भण्डारी, कालिका भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष युवराज भण्डारी, परमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डेले कोटिहोम दर्शन गरेका थिए ।
धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक बन्दै गएको कोटिहोममा देशभरबाट जनप्रतिनिधि, साधु–सन्त, समाजसेवी, विद्यार्थी र सर्वसाधारणको सहभागिता आयोजकलाई थप उत्साह थपेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटीहोमको उत्तरार्धतर्फ आउँदै गर्दा जनप्रतिनिधिको सहभागितासँगै केही न केही दान गरेर जाने गरेका छन् ।
कोटिहोम अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
कोटिहोममा जारी राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता सोमबार २३ जना प्रतियोगीले आफ्नो प्रस्तुति राखेका छन् । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । आज प्रतियोगितामा काठमाडौँ, कास्की, स्याङ्जा, नवलपुर, बागलुङ, रुपन्देही, चितवन, गुल्मीबाट सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्यले प्रतियोगिताले विद्यार्थीलाई धर्म संस्कृति र संस्कारका बारेमा नजिक बाट बुझ्ने मौका मिल्ने बत्ताइन । कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
