पोखरा । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल प्यानको दोस्रो बृहत् सम्मेलन पोखरामा हुने भएको छ । संस्थाका गण्डकी प्रदेश  समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर दिएको जानकारी अनुसार सम्मेलन जेठ २३ र २४ गते हुनेछ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा बोल्दै गौतमले दुई दिने सम्मेलनमा कुल २८ वटा सेसनमा छलफल हुने जानकारी दिए । विद्यालयले गरेका असल अभ्यासका बारेमा एक अर्कालाई बताउने कार्य सम्मेलनमा हुने उनले खुलाए । विद्यालयका लिडर समायानुकुल अपडेट हुनुपर्नेमा उनको जोड थियो । सम्मेलनमा ‘प्यान अवार्ड २०८२’ हुनेछ ।

अध्यक्ष गौतमले यो संस्था गैर–राजनीतिकगैर–नाफामूलक संस्था भएको बताए । आफूहरूले नेपालका २७ हजार ९ सय भन्दा बढी विद्यालयमा नेतृत्व गरिरहेको उनले उल्लेख गरे । प्यानले प्रत्येक वर्ष फरक–फरक प्रदेशमा  नयाँ अवधारणामा आधारित रहेर राष्ट्रिय सम्मेलन गर्दै आएको छ । सम्मेलनमा १ हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू र नीति निर्माताहरूको सहभागिता हुने उनको भनाइ थियो ।

 संस्थाका गण्डकी प्रदेश अध्यक्ष वामदेव पौड्यालले  प्यानले  प्रत्येक प्रदेशबाट उत्कृष्ट आधारभूत र माध्यमिक विद्यालय, प्रधानाध्यापक र उत्कृष्ट पालिका तथा एक महानगर वा उपमहानगरलाई सम्मान गर्ने बताए । प्रत्येक प्रदेशबाट एक जना बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई निरन्तरता दिइने उनको भनाइ छ ।

छनोट समितिले विद्यालय, पालिका र प्रधानाध्यापकहरूबाट प्राप्त आवेदन तथा सिफारिसलाई आधार बनाई २५ वटा मापदण्डका आधारमा निष्पक्ष छानबिन गरेर अवार्ड दिने उनले उल्लेख गरे ।  प्यानका कार्यक्रमहरूले प्रधानाध्यापकहरूको आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने उल्लेख गरिएको छ । सामुदायिक विद्यालयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र संयुक्त राष्ट्रसङ्घजस्ता संस्थासँग सहकार्य गरी विद्यालयको क्षमता विकास गर्ने प्यानले जोड दिने गण्डकी अध्यक्ष पौड्यालले बताए ।

प्यानले शिक्षा क्षेत्रमा प्रधानाध्यापकहरूको भूमिका सशक्त बनाउँदै गुणस्तरीय शिक्षाको आधार तयार गरिरहेको उनको दाबी थियो । प्यानले आगामी दिनमा विद्यालयबीचका असमानता घटाउने, शिक्षक र प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने र नवीनतम प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्ने योजना बनाएको उनले सुनाए ।  सम्मेलनबाट पोखरा घोषणापत्र जारी समेत हुने आयोजकको भनाइ छ । सामुदायिक विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने समेत यो संस्थाको उद्देश्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0