पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फोर जी नेटवर्क कभरेज ६५ लाख घरधुरीमा पुर्‍याउन लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । शनिबार पोखरामा आयोजना गरिएको पत्रकारितामा महिलाहरूको सहभागिता तथा विकासका लागि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७ सय ५३ वटै पालिकामा ब्रोडब्यान्ड कनेक्टिभिटी पुर्‍याउने बताए । अब सबै ठाउँमा इगभर्नेन्स सुविधा सहित डिजिटलाइजेसन हुनुपर्‍यो भन्दै डिजिटल नेपालको कन्सेप्ट अनुसारको ८ वटा क्षेत्रमा यो पूर्ण रुपमा लागू गर्ने उनको भनाइ थियो । उनले यहीं आर्थिक वर्षमा पुरा गर्ने लक्ष्यका साथ बनाइएका केही योजना विभिन्न कारणले पुरा हुन नसकेपनि आगामी आर्थिक वर्षमा पुरा गरेरै छोड्ने प्रतिवद्धता जनाए । उनले अबको आर्थिक वर्षमा काठमाडौँ र पोखरामा फाइभ जी नेटवर्कको सुविधा पूर्ण रुपमा लागू गरिने समेत उल्लेख गरे ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अनलाइन प्लाटफर्म प्रयोगकर्ताले प्रेस स्वतन्त्रता सहितका सुविधाको दुरुपयोग गरिरहेको भन्दै त्यसलाई रोक्नका लागि नियमनको आवश्यकता परिरहेको खुलाए । त्यसलाई संविधान र कानून मुताविक नियमन गर्नको लागि सरकारले कार्य गरिरहेको उनको भनाइ थियो ।

मन्त्रालयकी सचिव राधिका अर्यालले अहिले पत्रकारिता पेशा जटिल मोडमा पुगेको बताइन् । को पत्रकार हुने,  योग्यता के चाहिने, सञ्चार संस्था सञ्चार माध्यम के हुन्,  समाचार के हो लगायतका विषयमा अहिले प्रश्न उठ्न थालिसकेको उनले बताइन् । नयाँ प्रविधिको विकासको कारण यस्तो अवस्था आएको उनको भनाइ थियो । हामीले भनिराखेका मेन स्ट्रिमका मिडिया सहित पत्रकारिता क्षेत्रमा चुनौती थपिएको उनले औँल्याइन् ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय काठमाडौँको आयोजना तथा सञ्चारिका समुह गण्डकीको सह आयोजनामा कार्यक्रम गरिएको हो ।

सोही कार्यक्रममा सञ्चारिका समुह गण्डकीले प्रदान गर्ने पुरस्कार अर्पण समेत गरिएको थियो । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार दुर्गा भण्डारी पौडेल र २०८१ बाट जमुना शर्मा वर्षा पुरस्कृत भए । गुरुङ ब्युटी एकेडेमी पत्रकारिता पुरस्कार म्याग्दीकी देवी जिसीलाई अर्पण गरियो ।

पुरस्कृत व्यक्तित्व समेत रहेकी राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेल, मन्त्रालयका सहसचिव गजेन्द्र कुमार ठाकुर, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब प्रसाद बराल, सञ्चारिका समुह गण्डकी अध्यक्ष कविता श्रेष्ठ लगायतले बोलेको कार्यक्रम मन्त्रालयकी सूचना अधिकारी ममता बाँस्तोलाले सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0