पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजावादीको गतिविधिमा वर्तमान सरकार मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकार मुकदर्शक बसेको बेला समाजवादी मोर्चाले प्रतिगामी शक्ति विरुद्ध प्रतिवाद गर्दा सरकारलाई राहत मिलेको उनले टिप्पणी गरे । 

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरामा आएर आफूहरूको अभियानलाई राजावादीसँग साँठगाँठको अभियान भनेको कतैबाट सुनेको उल्लेख गर्दै ‘यदी त्यसरी भनिएको हो भने म प्रधानमन्त्री जीलाई एक पटक मेन्टल हस्पिटलमा गएर चेकजाँच गर्न सल्लाह दिन्छु’ भनेका छन् । 

अध्यक्ष प्रचण्डले जनजागरण अभियानमा अपार जनताको साथ र समर्थन पाएको उल्लेख गर्दै जनताका मागलाई सँगालेको र सरकारसँग गएर माग अगाडि सार्ने बताए । बजेट मार्फत यी कुरा परेनन् भने गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिनेसम्मका काम गर्ने उनले उल्लेख गरे । सरकारले नसुने अभूतपूर्व जनताको सहभागिता भइरहेको दाबी गरे । आफूहरूको अभियान सम्पूर्ण देशभक्तिपूर्ण जनताको अभियान बन्न पुगेको बताए । उनले स्थानीय तहमा एमाले र काङ्ग्रेसका सरकार रहेका ठाउँमा पनि स्वागत समेत भएको उल्लेख गरे । 

 अध्यक्ष प्रचण्डले मध्य पहाडी पुष्पलाल लोकमार्गको जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा हुने जागरण सभासँगै सकिने जानकारी दिए । अभियानमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू नन्द किशोर पुन, अग्नि सापकोटा, पम्फा भुसाल, कृष्ण बहादुर महरा, देव गुरुङसहितका नेता सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0