पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।

युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।

महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।

तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन्। उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन्।

“घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उनले भनिन्। पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन्। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ।

त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।

अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपले सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय रह्यो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो।

नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए। कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। उनले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताए। साथै, उनले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।

प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताएका छन्। जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो।

कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन्। राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0